काठमाडौं , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध अनलाइन सट्टेबाजी एप (‘बेटिङ एप’) र सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरण लाई निर्देशन दिएको छ।सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना को अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरू सहभागी थिए।
निर्देशनपछि प्राधिकरणले बेटिङ एप बन्द गर्ने प्रक्रिया सुरु गरिसकेको छ। प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्याल का अनुसार इन्टरनेट सेवा प्रदायक (अपरेटर्स) हरूलाई निर्देशन दिई बन्द गर्ने कार्य अगाडि बढाइएको छ।यसअघि मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले तत्काल सक्रियता देखाएको हो। सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ४२ मा २४ घण्टाभित्र यस्ता एप र वेबसाइट पूर्ण रूपमा बन्द गर्ने व्यवस्था गरिएको छ।
सरकारले अवैध आर्थिक कारोबार तथा पुँजी पलायन रोक्ने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ।बैठकमा मन्त्री तिमिल्सिनाले मन्त्रालयअन्तर्गतका निकायलाई जनताले तत्कालै अनुभूति गर्न सक्ने सेवाहरूको कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्। उनले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र परिणाममुखी बनाउन जोड दिएका छन्। साथै ‘डिजिटल शासन’ र ‘डेटा गभर्नेन्स’ मा केन्द्रित भएर समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले दैनिक कार्यप्रगति रिपोर्टिङ तथा मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समीक्षा गर्ने प्रणाली विकास गरिने जानकारी दिएका छन्।