काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारलाई सेयरबजारले घटेर स्वागत गरेको छ । सरकार गठन भएपछि आइतबार पहिलो कारोबार भएको हो । बढ्ने अनुमानका बीच आइतबार बजारमा भीषण पहिरो गयो । यसले सरकारप्रति सुरुवाती दिनमा नै लगानीकर्ताहरु उत्साहित हुन नसकेको देखिएको छ ।
आइतबार सूचक ७१ दशमलव शून्य पाँच अंकले ओरालो लागेपछि बजार २८ सय ७९ दशमलव ११ विन्दुमा खुम्चिएको छ । यस दिन तीन सय ३३ वटा सेयर एक लाख ९६ हजार एक सय ५८ पटक कारोबार भए । जसमा तीन करोड ५२ लाख ४८ हजार तीन सय ९७ कित्ता खरिदबिक्रीसँगै कुल १५ अर्ब तीन करोड ३३ लाख बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सुरुवातमै सरकार राजनीतिक क्रियाकलापमा बढी केन्द्रित हुनथालेपछि लगानीकर्ता सशंकित भएका हुन् ।
भदौ २३ र २४ को जेन–जी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गरेको र जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि सिफारिस गरेको कारबाही कार्यान्वयनमा अग्रसर भएसँगै सडकमा विरोध प्रदर्शन सुरु भएकाले पनि आगामी दिनमा छाउन सक्ने सम्भावित राजनीतिक अशान्तिलाई लिएर लगानीकर्तामा निराशा छाएको रुपमा आइतबारको कारोबारलाई हेरिएको छ । सोही कारण किन्नभन्दा उनीहरु बेच्न उत्साहित देखिए । जसले गर्दा कारोबार रकम १५ अर्ब भए पनि सूचक व्यापक रुपमा घट्न पुगेको छ ।
यस दिन १३ वटै समूह ओरालो लागेका छन् । जसमा वाणिज्य बैंक ४३ दशमलव २४, विकास बैंक एक सय ८२ दशमलव ७७, फाइनान्स ८९ दशमलव ४९, जलविद्युत् ८९ दशमलव ९५, जीवन बीमा तीन दशमलव दशमलव ५० अंकले घटेका छन् । त्यस्तै निर्जीवन बीमा दुई सय ६४ दशमलव ६५ अंकले घटेको नेप्सेले जनाएको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सूचक पनि क्रमशः एक सय ७३ दशमलव ८१, तीन दशमलव ३७, एक सय १३ दशमलव शून्य नौ, एक सय १० दशमलव ४०, शून्य दशमलव शून्य छ, ६१ दशमलव शून्य पाँच र एक सय तीन दशमलव १४ विन्दुले खुम्चिएका छन् ।
यस दिन रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैैभन्दा बढी कमाउँदा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । रिडी हाइड्रोपावर कम्पनीको भने यस दिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।