बैतडी । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका यहाँस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्य सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी छिन् ।
। प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी सहिदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो । सहिद साउदकी भाउजु सरस्वतीको नाम पनि उक्त नामावलीमा उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वती सहित २७ जना जेनजी सहिदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ ।
गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा शिवनाथ–२ शर्माली घर भएका दीपकको गोली लागेर मृत्यु भएको थियो । कृषि सहायकको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए ।
सरकारले जेनजी आन्दोलनमा दीपकसिंह सहिद भएपछि यसअघि नै उनको परिवारलाई रु. १५ लाख राहत उपलब्ध गराइसकेको छ । यस्तै शिवनाथ गाउँपालिकाले पनि सहिद परिवारलाई गाउँपालिकाको तर्फबाट एक लाख राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि सहिद परिवारलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।