काठमाडौं । कस्तुरी फर्मास्युटिकल्स लिमिटेड र रिलायवल क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । भरतपुर चितवनमा प्रथम औषधि उद्योगको रूपमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्सले साधारण सेयर जारी गर्नको लागि रिलायवलसंग सम्झौता गरेको हो ।
कम्पनीले विगत १३ वर्षदेखि औषधि उत्पादन गरिरहेको छ । करिब १ विघा १० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योगले औषधि उत्पादन गरी देशभरिकै बिक्री डिपोहरूमा आफ्नो औषधि पठाइरहेको छ । डब्लूएचओ जीएमपी र आईएसओ ९००१ प्राप्त गरेको यो कम्पनीले हाल एक सय ८२ भन्दा बढी औषधिहरूको उत्पादन अनुमति लिएको छ भने एक सय २५ भन्दा बढी औषधिहरू बजारमा बिक्री गरिरहेको छ । यस कम्पनीका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रवन्ध निर्देशक ईश्वर भण्डारी विगत तिन दशकदेखि यस क्षेत्रमा आवद्ध रहेका अनुभवी व्यवसायीहरू हुन् ।
कम्पनीको हाल चुक्ता पुँजी ५० करोड रहेको र १४ करोड संस्थापकहरूमा थप जारी गरिरहेको छ । कम्पनीले तत्कालै सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १६ करोड १६ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्न यही चैत्र मसान्तभित्र नेपाल धितोपत्र बोर्डमा निवेदन दिन लागेको छ । तत्पश्चात् कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनेछ । यस कार्यका लागि रिलायवल क्यापिटल इनभेस्टमेन्ट एन्ड मर्चेन्ट लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्ति गरेको छ । आईपीओको लागि कम्पनीले इन्फोमेरिक्स नेपालसंग क्रेडिट रेटिङ्ग गराइसकेको र बीबी माइनस रेटिङ्ग प्राप्त गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको र जोखिम न्युन रहेको देखाउँछ । कम्पनीले विगतमा लिएको कर्जालाई भुक्तानी गरी अत्यन्त न्युन कर्जा प्रयोग गरेको छ । हाल जम्मा २४ करोड रुपैयाँ कर्जा रहेको छ । विगतमा कम्पनीले नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गरेको र आगामी दिनमा समेत लाभांश वितरण गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको हालको प्रतिसेयर नेटवर्थ (पौष अन्त, २०८२) मा १२९.९३ रुपैयाँ रहेको र सेवोनको लागि आवश्यक वास्तविक नेटवर्थ ९२.०५ रुपैयाँ रहेको छ । यस वर्षको अन्त्यमा उक्त वास्तविक नेटवर्थ ११२.८१ रुपैयाँ पुग्ने छ । आईपीओ निष्कासनको लागि कम्पनीले सम्पूर्ण प्रकृया सम्पन्न गरिसकेको र नयाँ सेयरधनी लगत प्राप्त हुनासाथ सेवोनमा जाने कम्पनीले निर्णय गरेको छ ।