काठमाडौं । दि निलय होटल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ । कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१÷८२को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । यसैगरी उक्त सभाले आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशनसम्बन्धी प्रक्रिया अघि बढाउने, आवश्यक पुँजी संकलन, ऋण व्यवस्थापन तथा रणनीतिक साझेदारी गर्ने, अन्य कम्पनीहरूसँग संयुक्त लगानी, सहकार्य वा आवश्यकताअनुसार मर्जर तथा अधिग्रहण गर्न सक्नेजस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गरेको हो ।
धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा रहेको कम्पनीले हाल होटल्स निर्माण गरिरहेको छ । साथै छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । कम्पनीले चारतारे स्तरको वर्गीकरण प्राप्त गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकास गरिरहेको हो । पर्यटन क्षेत्रप्रति प्रतिबद्ध दि निलय होटल्स लिमिटेडले उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्ने जनाइएको छ ।