काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को २६औँ साधारणसभा तथा १३औँ अधिवेशन काठमाडौंमा सुरु भएको छ ।
महासंघको साधारणसभा तथा महाधिवेशन मंगलबारदेखि काठमाडौँमा सुरु भएको हो । महाधिवेशनको उद्घाटन कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले सार्वजनिक खरिद ऐन संशोधनमा सरकारले देखाएको चासो सकरात्मक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु सकारात्मक रहेको बताए । सरकारले सार्वजानिक खरिद ऐन संशोधनको प्रक्रिया अघि बढाउनु निर्माण क्षेत्रका लागि उत्साहजनक भएको उल्लेख गरे । ऐन संशोधन भएमा निर्माण क्षेत्रमा व्याप्त धेरै नीतिगत समस्याहरू समाधान हुने उनको भनाइ छ । अध्यक्ष ढकालले विशेषगरी ठेक्का प्रक्रियामा बैंक ग्यारेन्टीको व्यवस्था भए पनि कतिपय अवस्थामा व्यवसायीको गल्ती विना नै काम रोकिने गरेको उल्लेख गरे । प्राविधिक वा सरकारी कारणले काम अघि बढ्न नसक्दा पनि निर्माण व्यवसायीलाई नै दोष दिएर ठेक्का तोड्ने प्रवृत्ति रहेको उनको भनाइ छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले पूर्वाधार क्षेत्रसँग सम्बन्धित कानुन सुधारका लागि पहल थाल्नु सकरात्मक भएको बताए । ३० दिनभित्र सार्वजनिक खरिद ऐनसहित पूर्वाधार क्षेत्रलाई प्रभावित गर्ने सबै ऐन, कानुन र नियमहरू परिमार्जन गर्न समिति गठन गरेकोले निर्माण क्षेत्रका समस्या अब समाधान हुने उनको विश्वास छ । उनले सार्वजनिक खरिद ऐन लागू भएदेखि नै पूर्वाधारमैत्री ढङ्गले संशोधन हुन नसकेको उहाँको भनाइ छ । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउन सके नेपालमा नै धेरै रोजगारी सिर्जना गर्न सकिने बताए । हाल नेपालको निर्माण क्षेत्रमा करिब ७ लाख भारतीय कामदारहरू रहेको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले अर्थतन्त्र चलायमान बनाउनको लागि निर्माण क्षेत्रलाई चलायमा बनाउनुपर्ने बताए । उनले निर्माण व्यवसायीको भुक्तानीको समस्या, म्याद थप, कर छुटलगायतका तत्काल समाधान गर्न सरकारसंग माग गरे । निर्माण क्षेत्र रोजगारी सिर्जना गर्ने र आर्थिक समृद्धिको आधार भएको उनको भनाइ छ । निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री बनाउन सबै सरोकारवालाबीच सहकार्य हुनु आवश्यक रहेको उनले बताए ।
महासंघको साधारणसभा तथा महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महासंघको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (एडी) लामा र पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समूह नै बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । लामाको समुहमा वरिष्ठ उपाध्यक्षमा रोसन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ छन् । यस्तै पाण्डेको समूहमा वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतम चुनावी प्रतिस्पर्धामा छन् । महासंघको नयाँ नेतृत्वको लागि बुधबार मनोनयन दर्ताको कार्यक्रम छ भने बिहीबार मतदान हुनेछ ।