काठमाडौँ । जिल्ला प्रहरी परिसरले हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर तथा सोही ठाउँकी ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापामगर पक्राउ परेका जानकारी दिए ।
उनले भने, “गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई थुनामा रहँदाका बखत निज हरिबहादुर थापामगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी निजहरूलाई धरौटीमा छुटाइदिन्छु, धरौटीबापतको रकम दिनुपर्छ भनी आश्वासन दिई धरौटीबापतको रकम र वकिललाई बहस खर्च भनी निजको श्रीमती मिठु मगर (अनिता थापामगर)को खातामा नौ लाख जम्मा गर्न लगाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।” प्रवक्ता भट्टराईले निजहरु दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताए ।