अबको समय सुन वैभव होइन । आम व्यवसायी र सर्वसाधारणको भाषामा भन्नु पर्दा सुन सुखमा सहयात्री र दुखको खजाना हो । तर यही खजानाको मूल्य विश्व बजारमा निकै उच्चरुपमा बढ्दै गएको छ । अहिले नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई लाख ९० हजारको हाराहारीमा पुगेको छ । सो अनुसार अहिले एक तोलाको सुनको गहना बनाउँदा ज्याला र जर्तीसमेत गरी झण्डै तीन लाख रुपैंयाँ पुग्ने गरेको छ । प्रतितोला चाँदीको मूल्य पनि पछिल्लो समय बढेर झण्डै पाँच हजारको हाराहारीमा पुगिसकेको छ । सुनचाँदीको बढ्दा बजार मूल्य आगामी समय अझै निकै बढ्ने देखिन्छ ।
आर्थिक विश्लेषकहरुका अनुसार विश्व अर्थतन्त्रमा देखिएको अस्थिरता र अनिश्चितताबीच सुनको मूल्य लगातार उकालो लागिरहेको हो । परम्परागत रूपमा ‘सुरक्षित लगानी’ का रूपमा चिनिने सुनप्रति लगानीकर्ताहरूको आकर्षण बढ्दै जाँदा यसको मूल्यले नयाँ–नयाँ उचाइ छोइरहेको उनीहरुको भनाइ छ । पछिल्लो समय देखिएको मूल्य वृद्धिको पछाडि अनेकौं संरचनात्मक र मनोवैज्ञानिक कारणहरू रहेका छन्, जसले भविष्यमा पनि यसको दिशा निर्धारण गर्ने संकेत दिएका छन् ।
विश्व बजारमा सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण भनेको विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता हो । अमेरिका, चीन र युरोपेली अर्थतन्त्रहरूबीचको प्रतिस्पर्धा, व्यापार युद्ध, र भूराजनीतिक तनावले लगानीकर्ताहरूलाई जोखिमपूर्ण सम्पत्तिबाट टाढा राखिरहेको छ । जब सेयर बजार वा अन्य लगानी माध्यम अस्थिर देखिन्छन्, त्यतिबेला लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुन्छन् । यही कारणले गर्दा सुनको माग बढ्दै गएको छ र मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । अहिले बजारमा भएको पनि यही नैं हो ।
सुनको मूल्य बढ्नुको दोस्रो महत्वपूर्ण कारण मुद्रास्फीति हो । विश्वका धेरै देशहरूमा महँगी दर उच्च रहँदा मुद्राको क्रयशक्ति घट्दै गएको छ । यस्तो अवस्थामा मानिसहरूले आफ्नो सम्पत्ति सुरक्षित राख्न सुनलाई रोज्ने गर्छन् । विशेषगरी अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य झन् तीव्र रूपमा बढ्ने प्रवृत्ति देखिन्छ । किनभने सुनको अन्तर्राष्ट्रिय कारोबार डलरमै हुने भएकाले डलर कमजोर हुँदा सुन तुलनात्मक रूपमा सस्तो देखिन्छ र माग बढ्छ ।
सुनको अन्तराष्ट्रिय बजार मूल्यलाई प्रभाव पार्ने तेस्रो पक्ष भनेको केन्द्रीय बैंकहरूको नीति हो । पछिल्लो समय विश्वका विभिन्न देशका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा सुनको अंश बढाउने रणनीति अपनाएका छन् । यसले बजारमा सुनको मागलाई थप मजबुत बनाएको छ । विशेषगरी चीन, भारत र रूसजस्ता देशहरूले ठूलो मात्रामा सुन खरिद गरिरहेका छन्, जसले दीर्घकालीन रूपमा मूल्यमा दबाब सिर्जना गरिरहेको छ । त्यसैगरी, ब्याजदर पनि सुनको मूल्यसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । जब ब्याजदर कम हुन्छ, बैंकमा पैसा राखेर पाउने प्रतिफल घट्छ । यस्तो अवस्थामा लगानीकर्ताहरू वैकल्पिक लगानीको खोजीमा सुनतर्फ आकर्षित हुन्छन् । अहिले विश्वका धेरै केन्द्रीय बैंकहरूले आर्थिक मन्दीबाट बच्न ब्याजदर घटाउने नीति अपनाएका कारण पनि सुनको मूल्यमा उकालो देखिएको हो । मनोवैज्ञानिक पक्ष पनि कम महत्वपूर्ण छैन । जब बजारमा ‘सुन बढ्दैछ’ भन्ने धारणा बलियो हुन्छ, धेरै लगानीकर्ताहरू त्यसैको पछि लाग्छन् । यसले मागलाई कृत्रिम रूपमा बढाउँछ र मूल्य अझ चुलिन्छ । यसलाई ‘हर्ड बिहेवियर’ भनिन्छ, जुन वित्तीय बजारमा बारम्बार देखिने प्रवृत्ति हो ।
विश्व बजारमा सुनको मूल्य लगातार बढी रहँदा अब प्रश्न उठ्न सक्छ, आगामी समय के हुन्छ ? के सुनको मूल्य अझै बढ्नेछ वा घट्नेछ ? विश्लेषकहरूका अनुसार छोटो अवधिमा सुनको मूल्य उच्च नै रहने सम्भावना देखिन्छ । जबसम्म विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहन्छ, भूराजनीतिक तनाव कम हुँदैन, र मुद्रास्फीति पूर्ण रूपमा नियन्त्रणमा आउँदैन, तबसम्म सुनको माग घट्ने सम्भावना कम छ। विशेषगरी केन्द्रीय बैंकहरूको निरन्तर खरिदले बजारलाई बलियो आधार प्रदान गरिरहेको छ । तर, दीर्घकालीन दृष्टिकोणबाट हेर्दा केही जोखिमहरू पनि देखिन्छन् । यदि विश्व अर्थतन्त्र स्थिर बन्दै जान्छ, सेयर बजारमा विश्वास पुनः स्थापित हुन्छ, र ब्याजदर बढ्न थाल्छ भने सुनको आकर्षण घट्न सक्छ । यस्तो अवस्थामा लगानीकर्ताहरू पुनः अन्य उच्च प्रतिफल दिने क्षेत्रमा फर्कन सक्छन्, जसले सुनको मूल्यमा गिरावट ल्याउन सक्छ ।
नेपालजस्तो देशका लागि भने अन्तर्राष्ट्रिय बजारको उतारचढाव सिधै प्रभाव पार्ने भएकाले सावधानी आवश्यक छ । नेपाली बजारमा सुनको मूल्य बढ्दा आयात खर्च बढ्ने, व्यापार घाटा थप चुलिने र उपभोक्ताको क्रयशक्ति कमजोर हुने जस्ता असर देखिन्छन्। विशेषगरी विवाह र चाडपर्वको समयमा सुनको माग बढी हुने भएकाले मूल्य वृद्धि आम जनताको आर्थिक बोझ बन्न सक्छ । यस परिप्रेक्ष्यमा, लगानीकर्ताहरूका लागि सन्तुलित रणनीति अपनाउनु अत्यन्त आवश्यक देखिन्छ । सम्पूर्ण लगानी सुनमै केन्द्रित गर्नु जोखिमपूर्ण हुन सक्छ । बरु विविधीकरण गरेर विभिन्न क्षेत्रमा लगानी गर्नु दीर्घकालीन रूपमा सुरक्षित विकल्प हुन सक्छ ।
निष्कर्षमा भन्नु पर्दा सुनको मूल्य वृद्धिको पछाडि धेरै कारणहरु रहेका छन् । आर्थिक अनिश्चितता, मुद्रास्फीति, केन्द्रीय बैंकहरूको नीति, ब्याजदर र लगानीकर्ताको मनोविज्ञान । यी कारणहरू छोटो अवधिमा हट्ने सम्भावना कम भएकाले सुनको मूल्य तत्काल घट्ने संकेत देखिँदैन । तर दीर्घकालीन रूपमा बजारको दिशा विश्व अर्थतन्त्रको स्थिरतामा निर्भर रहने छ । साँचो अर्थमा भन्नु पर्दा सुन केवल धातुमात्र नभई विश्वास, सुरक्षा र भविष्यप्रतिको चिन्ताको प्रतीक बनेको छ । जबसम्म मानिसहरूलाई आर्थिक असुरक्षाको अनुभूति रहन्छ, तबसम्म सुनको मूल्य कहिले पनि कम हुदैन ।