काठमाडौं । नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने तयारी गरेको छ । कम्पनीले थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको हो ।
यस अनुसार थ्रीजी सिम प्रयोग गर्ने ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएसमार्फत जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन् । यसका लागि पायक पर्ने जुनसुकै दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ । फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्रलगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरु देखाएर नयाँ फोरजी सिम लिन सक्नेछन् ।
टेलिकमले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रुपान्तर गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रीजी भन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि स्टार४४४ह्याक्स डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा तथा उच्च गुणस्तरको भोल्टी सेवा सक्रिय गर्न सकिनेछ ।