काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष रुपमा छलफल सुरु गरेकी छिन्। साना सहकारी बचतकर्ताहरूलाई सरकारले सय दिनभित्र रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।
देशभरका विभिन्न सहकारीका पीडितहरू बिहीबार बिहानैदेखि मन्त्रालयमा भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन्। मारमा परेका सर्वसाधारणले लामो समयदेखि बचत फिर्ता नपाउँदा प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन्।
छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको सम्बोधन प्रभावकारी रूपमा कसरी गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् ।
विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा सरकार केन्द्रित रहेको र सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले चरणबद्ध रूपमा काम अघि बढाएको मन्त्री रावलको भनाइ छ।