काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको सभामुख पदका लागि उपसभापति डीपी अर्यालको नाम प्रस्ताव गर्ने निर्णय गरेको छ।सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत रूपमा गरेको हो। बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए, जसलाई उपस्थित सदस्यहरूले एकमतले अनुमोदन गरेका थिए। सभामुख र उपसभामुखको निर्वाचन आगामी चैत २२ गते हुने तय भएको छ भने मनोनयन दर्ता चैत २० गते हुनेछ।उक्त बैठकमा रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको जनाइएको छ। सभामुख पदका लागि रास्वपाले अघि सारेको उम्मेदवारीसँगै संसदभित्र राजनीतिक समीकरण थप सक्रिय हुने संकेत देखिएको छ।