काठमाडौँ । विवादास्पद सेयर लगानीकर्ता दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका भट्टलाई अध्यागमन विभागले अध्यागमनको कालोसूचीमा राखेको केही दिनमै सीआईबीले भट्टलाई पक्राउ गरेको हो ।
विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो । भट्टमाथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्नेगरेको आरोप छ । उनीमाथि राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरूपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ । पक्राउ परेका भट्टअउपर थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले भट्टलाई बिहीबार दिउँसो पक्राउ गरिएको बताए । ‘भट्टलाई हामीले बिहीबार दिउँसो नक्सालबाट पक्राउ गरेका छौँ’, उनले भने, ‘उनीमाथि वित्तीय अपराधको आरोप लागेको छ, यसको लागि पर्याप्त अनुसन्धान गर्नेछौँ ।’
यसैबीच सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
भट्टले राजनीतिज्ञ र उद्योग व्यवसायीसँग निकटतम सम्बन्ध बनाई गैरकानुनी तवरमा सेयर लगानी तथा लगानी रकमहरूमा चलखेल गर्दै आएका थिए । भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन् भने हिमालयन रि–इन्स्योरेन्सलगायतका विभिन्न कम्पनीहरूमा सेयर लगानीकर्ता समेत रहेका छन् ।
यसअघि सत्ता र शक्तिको आडमा उनीमाथि अनुसन्धानको प्रक्रिया अघि बढाउन सकिएको थिएन । भट्टमाथि सार्वजनिक खरिदका ठेक्का, जग्गा खरिद, किर्ते नागरिकता दिलाउने काम गरेको आरोप रहेको छ । उनीमाथि जलविद्युत्, बैंक तथा वित्तीय संस्था र बीमाको सेयरहरू चलखेलको आरोप लागेको छ । सत्ता र शक्तिको आडमा उनले लाखौँ लगानीहरू हिनामिना गरेको आरोप लागेको छ । भट्टलगायतको समूह यसअघि राज्यका अनुसन्धान गर्ने निकायहरूबाट समेत जोगिँदै आएको थियो ।
भट्टमाथि नागरिकता किर्तेको आरोप समेत छ । यशोदा फुड्स, श्रीराम टोबाकोलगायत विभिन्न कम्पनी सञ्चालन गरिरहेका व्यापारी कमलकिशोर मालपानीको नक्कली नागरिकतासम्बन्धी मुद्दामा सेटिङ मिलाएबापत विवादास्पद भट्टले गोल्डेन सेयर लिएका थिए । सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकता प्रमाण पत्र नम्बर ३७—०२—७१—१३६५८ नम्बरको आधारमा उनले रुपन्देहीबाट सक्कली नागरिकता समेत लिएको बारे विभिन्न निकायमा उजुरी परेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागले मालपानीको सम्पत्ति जफतका लागि तयारी गरिरहेकै बेला विवादास्पद बिचौलिया भट्टले सम्पत्ति शुद्धीकरण विभागको प्रमुख नै हेरफेर गरिदिएका थिए ।