काठमाडौं । पछिल्लो समय मुलुकको मुद्रास्फीति दर खुम्चिएको छ । चालू आर्थिक वर्षको आठ महिनामा मुद्रास्फीति अर्थात् मूल्यवृद्धि दर तीन दशमलव ६२ प्रतिशतमा खुम्चिएको हो । प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकको साउनदेखि फागुनसम्मको प्रतिवेदनअनुसार चालू आवको फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ६० प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी मुद्रास्फीति समूहहरूको क्रमशः तीन दशमलव ३४ प्रतिशत र तीन दशमलव ९७ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको औसत मुद्रास्फीति दुई दशमलव १३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ७२ प्रतिशत रहेको थियो । चालू आवको आठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११ दशमलव ४९ प्रतिशत, घ्यू तथा तेलको नौ दशमलव ८६ प्रतिशत र फलफूलको नौ दशमलव ६३ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक तीन दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको दुई दशमलव १८ प्रतिशत र मरमसलाको दुई दशमलव शून्य तीन प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २२ दशमलव ८१ प्रतिशत, शिक्षाको सात दशमलव ४६ प्रतिशत, मदिराजन्य पेय पदार्थको चार दशमलव ७७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको चार दशमलव ७३ प्रतिशत, सुर्तीजन्य पदार्थको तीन दशमलव ५७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बीमा तथा वित्तीय सेवाहरू उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक तीन दशमलव शून्य छ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक तीन दशमलव ८२ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ९६ प्रतिशत, मधेश प्रदेशको चार दशमलव ९५ प्रतिशत, बागमती प्रदेशको तीन दशमलव ३१ प्रतिशत, गण्डकी प्रदेशको दुई दशमलव ८७ प्रतिशत, लुम्बिनी प्रदेशको चार दशमलव २१ प्रतिशत, कर्णाली प्रदेशको दुई दशमलव २१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको दुई दशमलव २५ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६४ प्रतिशत, तराईको चार दशमलव ११ प्रतिशत, पहाडको तीन दशमलव ११ प्रतिशत र हिमालको दुई दशमलव ८३ प्रतिशत रहेको छ ।
विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब
मुलुकको कुल बिदेशी मुद्राको सञ्चिति ३४ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७ दशमलव पाँच प्रतिशतले बढेर २०८२ फागुन मसान्तमा ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८ दशमलव तीन प्रतिशतले बढेर २३ अर्ब ८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा २५ दशमलव सात प्रतिशतले बढेर ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ फागुन मसान्तमा ४४ प्रतिशतले वद्धि भई तीन खर्ब ७८ अर्ब ६६ करोड कायम भएको छ । २०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ महिना चार दिनको वस्तु आयात र १८ महिना पाँच दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
खुद सेवा आय ३७ अर्बले घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार खुद सेवा आय ३७ अर्ब ६९ करोड रुपैैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६१ अर्ब सात करोड रुपैयाँले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई दशमलव पाँच प्रतिशतले कमी भई ५५ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ७८ करोड रहेको थियो । । प्रतिवेदनअनुसार समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय एक दशमलव सात प्रतिशतले कमी भई एक खर्ब ४५ अर्ब १२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय ९७ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब ४७ अर्ब ५७ करोड रहेकोमा शिक्षातर्फको व्यय ८८ अर्ब ९२ करोड रहेको थियो ।
साढे १४ खर्ब रेमिट्यान्स
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह ३७ दशमलव सात प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
प्रतिवेदनअनुसार २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय ३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार नौ सय ८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ६८ र दुई लाख १७ हजार चार सय तीन रहेको थियो ।
चालू खाता साढे पाँच खर्बले बचतमा
मुलुकको चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकको चालू खाता पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ९७ अर्ब तीन करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा तीन अर्ब ८८ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ अर्ब ४१ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब ४७ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा चार अर्ब ६१ करोडले बचतमा रहेको छ ।