काठमाडौं । पाँचवटा विभिन्न कम्पनीहरूले साधारण सेयर (आईपीओ) निष्कासनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार यसरी आवेदन दिने कम्पनीहरूमा बुढानीलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, नेसनल वायोटेक, इस्टर्न साहारा कम्पनी र पशुपति रिन्युएबल्स कम्पनी रहेका छन् ।
बोर्डका अनुसार बुढानीलकण्ठ हेरिटेज लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको लागि अनुमति माग गरेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीले यही चैत १६ गते बोर्डमा आवेदन दिएको हो । नेसनल वायोटेक लिमिटेडले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार सभापोखरी हाइड्रोपावर लिमिटेडले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासनको लागि अनुमति माग गरेको हो । यो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसैगरी पशुपति रिन्युएबल्सले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासनको लागि अनुमति माग गरेको हो । कम्पनीको सेयर निष्कासन एवं बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार इस्टर्न साहारा कम्पनी लिमिटेडले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको लागि अनुमति माग गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।