काठमाडौं । नेपाल महिला चेम्बरले देशका विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान दिएका महिलाहरूलाई सम्मान गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक उत्सव हीरक जयन्तीको अवसरमा महिलाहरूलाई सम्मान गरिएको हो । अग्रणी महिला सम्मान शीर्षकमा आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मानपत्र प्रदान गरिएको थियो । उनीहरूलाई पूर्वराष्ट्र«पति रामवरण यादव, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कार्यक्रममा नेपालकी प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्वमुख्यसचिव लिला देवी गड्तौला, लैंगिक अधिकारविज्ञ चाँदनी जोशी, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, एसएलसी बोर्ड प्रथम लुना भट्ट, पहिलो महिला कमर्शियल पाइलट रक्षा राणा, अभिनेत्री भुवन चन्द, प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, सचिव बिन्द्रा हाडा, निजी क्षेत्रकी भवानी राणा, नेपाल राष्ट्र बैंककी नीलम ढुंगाना तिम्सिना, रानु देवी अधिकारी, सानुनानी कंसाकार लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ज्ञवाली, चेपाङ समुदायकी मन्जू प्रजा, बडीबिल्डर निर्मला महर्जन, कलाकार मनिषा कोइराला, पौराणिक व्यक्तित्व सीता (जानकी) र वैदिक दार्शनिक गर्गीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रथम महिला राष्ट्र«पति विद्यादेवी भण्डारी, प्रथम प्रधानमन्त्री एवं महिला प्रधानन्यायाधीश सुशीला कार्र्की, प्रथम महिला शासक नायब स्व. राजेन्द्र लक्ष्मी शाह, स्व. कान्तिराज्य लक्ष्मी देवी, योगमाया न्यौपाने, साहित्यकार स्व. पारिजात (विष्णु कुमारी बाइवा), स्व. शैलजा आचार्य, स्व. साधना प्रधान अधिकारी, स्व. सहाना प्रधान, मिडियाकर्मी स्व. कृष्णा ताम्राकार, गायिका स्व. सनुमाया गुरुङ, अधिवक्ता स्व. सुशीला सिंह, राजनीतिज्ञ स्व. इन्दिरा श्रेष्ठ, समाजसेवी स्व. अमृता कठायत, राजनीतिज्ञ स्व. द्वारिका देवी ठकुरानी, स्व. चन्द्रकला किरण महत, लोकसेवा आयोग सदस्य स्व. उमा पाण्डे, राजदूत स्व. बिन्देश्वरी शाह, संसद उपाध्यक्ष स्व. कमल राणा, शिक्षाविद् स्व.अंगुरबाबा जोशी र पर्यटन उद्यमी स्व. अम्बिका श्रेष्ठ, शिक्षाविद् स्व. चन्द्रकान्ता देवी मल्ल, सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पा, व्यावसायिक प्रशिक्षक स्व. सुनिता मलेकु, सेयर बजारकी स्व. सुचित्रा खनाल, चालक स्व. रामदेवी श्रेष्ठको योगदानको स्मरण गर्दै सम्मान समर्पण गरिएको चेम्बरले जनाएको छ ।
कार्यक्रममा केही व्यक्तित्वहरूको उपस्थितिमा सम्मान गरिएको थियो भने दिवंगत व्यक्तित्वहरूका परिवारजनमार्फत सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वराष्ट्र«पति रामवरण यादवले सम्मानित व्यक्तित्वहरूबाट सिंगो देश र नयाँ पुस्तालाई हौसला प्रदान हुने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने बताए । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला चेम्बरले महिला सशक्तीकरण, उद्यमशीलता विकासजस्ता विषयलाई जोड दिदै आएको जानकारी दिइन् ।