कमलामाई (सिन्धुली) । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
बा४ख ५०५२ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । धुलिखेल अस्पतालमा चालक मगरको उपचार भइरहेको छ ।
यस्तै दुर्घटनामा घाइते अन्य यात्रुहरुमा मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर, झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृती यादव, ३२ वर्षीया कल्पना राई र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् । उनीहरुको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ । बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रण लिएको छ ।