काठमाडौं , वैदेशिक रोजगार विभाग मा वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पछिल्लो एक महिनामा ३५२ जनाविरुद्ध उजुरी परेको छ। विभागअन्तर्गतको अनुसन्धान तथा मुद्दा शाखामा दर्ता भएका उजुरीका आधारमा ती व्यक्तिहरूको सूची सार्वजनिक गरिएको हो। विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उजुरी परेका सबै व्यक्तिमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। विभागका अनुसार गत फागुन १७ गतेदेखि चैत १७ गतेसम्म प्राप्त उजुरीहरूका आधारमा नाम सार्वजनिक गरिएको हो। उजुरीमा वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभन देखाएर ठगी गरिएको आरोप लगाइएको छ। विभागले यसप्रकारका ठगी नियन्त्रणका लागि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ भने वैदेशिक रोजगारीमा जान इच्छुक सर्वसाधारणलाई आधिकारिक प्रक्रिया अपनाउन र प्रमाणित म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।साथै, कसैले ठगी गरेको शंका लागेमा तुरुन्त विभागमा उजुरी दिन पनि आग्रह गरिएको छ।