काठमाडौं,लोकप्रिय हास्य कलाकार सागर लम्साल ‘बले’ लाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापा ले जानकारी दिएका छन्।प्रहरीका अनुसार अमेरिकामा अध्ययनरत एक युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक वर्षअघि लम्सालले आफूलाई बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन्। सोही आरोपमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनापछि लम्साल संलग्न रहेको फिल्म ‘पाँच पाण्डव’ निर्माणपक्षले पनि तत्काल निर्णय गर्दै उनलाई चलचित्रबाट निष्कासन गरेको छ। निर्माण कम्पनी कालारानी फिल्मस् प्रालि ले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आरोपको गम्भीरतालाई ध्यानमा राखी आपतकालीन बैठकमार्फत यस्तो निर्णय गरिएको जनाएको छ। विज्ञप्तिमा पीडितले प्रत्यक्ष रूपमा आरोप लगाइसकेको अवस्थामा नैतिकताको आधारमा लम्साललाई फिल्मबाट हटाइएको उल्लेख छ। निर्माण पक्षका अनुसार फिल्ममा लम्सालको करिब ९० प्रतिशत छायांकन सम्पन्न भइसकेको भए पनि अब उनका कुनै पनि दृश्य अन्तिम संस्करणमा समावेश गरिने छैनन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।