काठमाडौं । आफूलाई ठूलो व्यवसायी र सेयर लगानीकर्ता भन्न रुचाउने कुख्यात बिचौलिया दीपक भट्ट पक्राउ परेपछि भट्टको सेयर लगानी रहेका विभिन्न कम्पनीहरूका अध्यक्षहरूले धमाधम राजीनामा दिन थालेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बिचौलिया भट्टलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका भट्टलाई अध्यागमन विभागले अध्यागमनको कालोसूचीमा राखेको थियो । गत सोमबार विभागले अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो । भट्टमाथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्नेगरेको आरोप छ । उनीमाथि राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरूपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।
भट्टलाई पक्राउ गरेपछि उनको प्रमुख सेयर लगानी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष शेखर गोल्छाले दिएको राजीनामा पनि स्वीकृत भएको छ । गोल्छाले फागुनकै अन्तिमतिर राजीनामा दिए पनि होल्ड थियो । पछिल्लो पटक बसेको कम्पनी सञ्चालक समितिको बैठकले भट्ट पक्राउ परेलगत्तै गोल्छाको राजीनामा स्वीकृत गरेको छ ।
भट्ट पक्राउ परेको पछिल्लो तीन दिनमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले पनि राजीनामा दिएका छन् । बिचौलिया दीपक भट्टको प्रमुख सेयर लगानी रहेका कारण नै क्रेष्ट माइक्रो लाइफका अध्यक्ष मोरले राजीनामा दिएका हुन् । बिचौलिया भट्ट पक्राउ परेपछि उनको व्यावसायिक साझेदार सुलभ अग्रवाललाई पनि प्रहरीले भैरहवाबाट पक्राउ गरिसकेको छ भने शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पछि पक्राउ परिसकेका छन् ।
यसैबीच पछिल्लो समय भट्ट पक्राउ परेपछि उनको व्यावसायिक साझेदारजस्तै मानिने नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल निकै तनावमा देखिएका छन् । भट्टको आर्थिक प्रलोभनमा परेर प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालले कानुन नै संशोधन गरेर सबै ऐन नियमको धज्जी उडाउँदै भट्टकै स्वार्थ र लगानी रहेको सातवटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएका थिए । नेपाल माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालले सञ्चालनको लागि अनुमति दिएका थिए ।
नेपाल बीमा प्राधिकरणमा हालसम्मका अध्यक्षमध्येमा सबैभन्दा धेरै विवादित अध्यक्षको रूपमा परिचय स्थिापित गरेका तत्कालीन अध्यक्ष सिलवाललाई माधव नेपालको विशेष जोडबलमा तत्कालीन सरकारले अध्यक्ष पदमा नियुक्त गरेको थियो । अध्यक्ष सिलवालविरुद्धको मुद्दा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन अवस्थामा छ । स्रोतका अनुसार गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेका सिलवालले आफ्नो अकूत सम्पत्ति लुकाउनको लागि दुबईमा समेत फ्ल्याट किनेर राखेको दाबी स्रोतले गरेको छ ।