काठमाडौंं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले आइतबारदेखि आम सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको छ लाख ८४ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति पाएको थियो । सोमध्ये पाँच लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार पाँच सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले बाँकी रहेको साधारण सेयर मध्ये ४१ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार पाँच सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको छ लाख ८४ हजार सात सय ५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । कम्पनीका अनुसार आवेदन दिने अन्तिम मिति चैत २५ गते रहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।