काठमाडौंं । नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिबार बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्याक्रम आयोजना गरिएको प्राधिकणको भनाइ छ । कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रिती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमालगायतका बीमाका प्रकारहरूबारे जानकारी गराएकी थिइन् । उनले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बीमाको महत्व प्रक्रिया र दाबी प्रक्रियाका विषयमा उपस्थित महिलाहरुलाई जानकारी दिएकी थिइन् ।
कार्यक्रममा सहभागी महिलाहरूले बीमासम्बन्धी बीमापछि रोग लाग्यो भने पाँउने सुविधा, बीमा गर्नुपर्ने व्याक्ति रोगी छ भने बीमा हुन्छ कि हुर्दैन, पीआईडीको सुविधा र समूहमा बीमा कुन कुन गर्न सकिन्छलगायतका विषयहरुमा जानकारी लिएका थिए । कार्यक्रममा विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो । प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले सहभागीबाट आएको जिज्ञासाको जवाफ दिँदै बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराएकी थिइन् । उनले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउर्दैँ हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको औँल्याइन् । उनले महिला समूहहरूलाई समूहगत रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रहसमेत गरिएको थियो । कार्यक्रममा विभिन्न चारवटा भजन समूहका करिब ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।