मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा सोमबार एक पुरुष मृत भेटिएका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित स्थानीय ७५ वर्षीय जीवनराम थनेत मृतावस्थामा फेला परेका र उनकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएको बताए ।
उनका अनुसार उपचारका लागि घाइते गुलबासेनियालाई चितवन लगिएको छ । घरमा दम्पती मात्र बस्दै आएका र छोराबुहारी छुट्टै घरमा बस्दै आएको खुलेको छ । घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताएका छन् ।