काठमाडौं । सभामुख निर्वाचित भएपछि डोलप्रसाद अर्याल (डीपी)ले पहिलो संसद् बैठक सञ्चालन गरेका छन् ।
सभामुख अर्यालले सोमबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक सुरु गरेका थिए । उनी आइतबार प्रतिनिधिसभाको सभामुख नियुक्त भएका थिए । आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका अर्यालले पदभार ग्रहण गरेका थिए ।
फागुन २१ को निर्वाचनमा उनी काठमाडौं ९ बाट निर्वाचित भएका थिए । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले अर्याललाई सभामुखमा प्रस्ताव गरेको थियो । झण्डै दुई तिहाइ मतसहित संसद्को पहिलो दल रास्वपाले सभामुखमा प्रस्ताव गरेसँगै उनी शुक्रबार नै निर्विरोध चुनिएका थिए । सभामुख भएसँगै उनले सभामुखको कुर्सी पनि अरु सांसदको जस्तै राख्न लगाएका छन् ।