काठमाडौंं । सरकारले आक्रामक रूपमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाउँदा सेयरबजारमा खैलाबैला मच्चिएको छ । चैत १३ मा गठन भएको नयाँ सरकारले पूर्वप्रधानमन्त्रीदेखि कहलिएका बिचौलियासम्मलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि सेयरबजारका ठूला लगानीकर्ता आतंकित भएका हुन् ।
बजारका ठूला लगानीकर्ता आतंकित हुँदा त्यसको प्रभाव भने सेयरबजारमा देखिएको छ । यही चैत १९ गते सरकारले बिचौलिया दीपक भट्टलाई पक्राउ गरेको थियो । उनी हिमालयन रि–इन्स्योरेन्सका ‘मेजर सेयर होल्डर’ हुन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । तर यसले सेयर लगानीकर्तामा भने आतङ्क सिर्जना गरेको छ । खासगरी बजारका ठूला लगानीकर्ताहरू आतङ्कित भएका छन् ।
नेपालको पुँजी बजारमा कालोधनको लगानी हुनसक्ने पहिल्यैदेखि आशंका गरिँदै आएको छ । त्यही हल्ला र ठूलो लगानीकर्तामध्येका भट्ट तथा उनका व्यावसायिक साझेदारहरूलाई पक्राउ गरी हिरासतमा नै राखेर अनुसन्धान भइरहेको छ । यही कारण पछिल्लो समय नेपालको सिंगो पुँजी बजार आतंकित देखिएको हो । यसको प्रमुख कारण भनेको सम्पत्ति शुद्धीकरणको डण्डा नै हो । सरकारले सेयर लगानीकर्ता भट्टसँगै भट्टका व्यावसायिक साझेदार शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । जसमा शंकर अग्रवाल रिहा भइसकेका छन् । तर सुलभको प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
भट्टलाई पक्राउ गरेपछि उनको प्रमुख सेयर लगानी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष शेखर गोल्छा र दिनमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले पनि राजीनामा दिइसकेका छन् । भट्टकै छत्रछायाँमा रहेका नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल पनि भट्ट पक्राउ परेसँगै तनावमा रहेका छन् । यसबाहेक नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ पनि भट्ट पक्राउ परेसँगै तनावमा देखिएका छन् । सरकारले भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धीमा मुद्दामा पक्राउ गरेको हो । भट्टमाथि अनुसन्धान जारी रहँदा त्यो अनुसन्धानको सुई कतै आफूतिर पनि सोझिने त होइन ? यी सबैमा अहिले यही डर रहेको छ । यसबाहेक भट्टसँग प्रत्यक्ष वा अप्रतक्ष्य रूपमा जोडिएका अन्य लगानीकर्ताहरूमा पनि डर रहेको छ ।
सरकारले भट्टको व्यावसायिक साझेदार भएकै कारण जुन व्यावसायिक घरानामाथि पक्राउ गरी अनुसन्धान गरिहरहेको छ, त्यो व्यावसायिक घराना नेपालको इतिहासमा नौ दशक पुरानो हो । नेपालमा यो घरानाका ४० वटा उद्योगहरू सञ्चालनमा छन्् । ती उद्योगमा प्रत्यक्ष रूपमा १५ हजार जनाले रोजगारी पाएका छन् । यसै घरानामा नेपाली बैंकिङ क्षेत्रमा झण्डै दुई खर्बको हाराहारीमा कर्जा लगानी रहेको छ । सरकारले व्यवसायी दिपक भट्टको साझेदार भएकै आधारमा एकै पटक यति ठूलो कम्पनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेपछि यसले अन्य लगानीर्ताहरूलाई आतङ्कित तुल्याएको हो ।
नेपालमा सेयरबजारबाहेक बैंक तथा वित्तीय संस्था, जलविद्युत् आदि क्षेत्रमा पनि कालोधन लगानी रहेको विगतदेखि नै चर्चा हुँदै आएको छ । यही कारण पनि वित्तीय कारोबारको सञ्चालनबाहेक जानकारी लिने अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई ग्रे–लिस्टमा राखेको हो । यी सबै कुरा गर्दा नेपालको सेयरबजारमा कहीँ न कहीँ कालोधन प्रयोग भएको देखिन्छ । जसको पछिल्लो उदाहरण सेयर लगानीकर्ता भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनु पनि हो । यही कारण पछिल्लो समय नेपालको पुँजीबजार सरकारप्रति सशङ्कित रहेको छ ।
त्यहीकारण सेयरबजार निरन्तर घट्दै गएको छ । सेयरबजारको यही ओरालो यात्राका बीच सोमबार राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले सेयरबजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औँल्याउँदै उनले त्यसलाई रोक्न विशेष कदम चाल्नुपर्ने आवश्यकता रहेको औँल्याए । ‘अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको छ । यसतर्फ सम्माननीयज्यूमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, उनले राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै भने ।
सरकारकै कारण लगानीकर्ताले करिब तीन खर्ब गुमाएको भन्दै सरकारले उद्यागी व्यवसायीमाथि गरेको एक्सनले पुँजी बजार अब बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सिर्जना भएको बताए । यसैबीच सोमबार नै स्टक ब्रोकर एसोसियसनका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर पुँजी बजार सुधार र सरकारको पुँजीबजारप्रतिको दृष्टिकोण प्रस्ट पारेसँगै साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार सम्हालिएर ८३ अंकले उकालो लागेको छ ।
‘सरकारले सेयरबजारमा सम्पत्ति शुद्धीकरणको छानबिन गर्दैन’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सेयरबजारमा सम्पत्ति शुद्धीकरणको छानबिन नगर्ने र नेपालको सेयरबजार पारदर्शी भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले यस्तो कुरा बताएका हुन् ।
अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने भन्दै उनले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पारेका छन् । उनले भने, ‘सेयरबजारमा सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकारले सोचेको छैन, सेयरबजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकार छैन, यही कारण, लगानीकर्ता आत्तिनु पर्दैन’, उनले भने ।
अर्थमन्त्री वाग्लेले स्टक मार्केटबारे बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता व्यक्त गरे । ‘सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई देखाउँदै केही समूहले चलखेल गर्न खोजेको छ’, वाग्लेले थपे, ‘तर पनि इनसाइडर ट्रेडिङ’ गर्ने र नियमविपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ ।’ सेयरबजारमा भएको लगानीको वैद्यता खोज्नेबारे अहिले नै सरकारले छलफल नगरेको वाग्लेको भनाइ छ ।
‘सेयरबजारमा आएको लगानी वैद्य र अवैद्य भनेर अनुसन्धान सुरु भएको छैन । किनकि, सेयर बजारमा चेक र बैंकिङ माध्यमबाट कारोबार हुन्छ’, उनले भने ।
शुक्रबार पनि सेयरबजार खुल्ने
अबदेखि शुक्रबार पनि सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडको नियमित कारोबार कक्ष सेयर कारोबारको लागि खुला हुने भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसअघि शुक्रबार बन्द हुने गरेको सेयर कारोबार खुला हुने भएको छ ।
नेप्से सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि शुक्रबारसम्म पाँचै दिन सेयर कारोबार खुला गर्ने निर्णय गरेको हो ।