काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) ले सिटीटेक ग्रुप प्रा. लि. सँग डिजिटल भुक्तानी क्षेत्रका लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ । यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ ।
यस साझेदारीपश्चात् सिटी टेकको हार्डवेयरमा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा विभिन्न कार्ड स्किमहरू तथा डायनामिक क्यूआरका लागि स्र्माट क्यूआरमार्फत डिजिटल भुक्तानीलाई सपोर्ट हुनेछ । यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य पोस डिभाइस उपलब्ध गराइने छ । पोस एक्वायरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरू यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरूको छुट्टाछुट्टै सदस्यता ,प्रविधिमा गर्नुपर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले यी संस्थाहरूका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने छ । एससीटीले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ । फिनोपोससँग को साझेदारी यसै प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो ।
एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र एक सयभन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विचमार्फत एससीटी युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रु पे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे, आईबीएफटी अन्तर बैंक भुक्तानी सेवा, स्मार्ट बैंकिङ, मोबाइल बैंकिङ्गलगायतका सेवासमेत प्रदान गर्दै आइरहेको छ ।