लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको देउखुरी क्षेत्रको महत्वपुर्ण सिँचाइ आयोजना प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन गर्दै जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले किसानका वास्तविक समस्या पहिचान गरेर ती समस्या समाधानका लागि योजना बनाइरहेको जानकारी दिए । उनले देउखुरी क्षेत्रलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले तरकारीखेतीमा किसानलाई सक्रिय हुन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेको बताए । सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएको उल्लेख गर्दै उनले सबैलाई उत्पादनमुखी बन्न आग्रह गरे ।
‘कृषिको आधारः सिँचाइमा सुधार’भन्ने मूल नारासहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समिति देउखुरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
राप्ती नदीमा हुने अनियन्त्रित उत्खनन्का कारण सिँचाइ प्रणालीमा समस्या देखिएको प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरीले बताए । उक्त सिँचाइ आयोजनामार्फत हाल पाँच हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको छ ।