विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
विराटनगरमा सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाललाई अध्यक्ष राउतले ८४ मतान्तरले पराजित गरेका थिए । राउतले एक सय ४२ मत प्राप्त प्राप्त गर्दा रिजालले जम्मा ५८ मत मात्र पाए । तीन वर्षअगाडि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । राउतले वस्तुगततर्फ ११ मत पाएका थिए भने रिजालले छ मत पाएका थिए । जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई जम्मा १३ मत मात्रै आएको थियो । एसोसिएटतर्फ पनि राउतले एक सय सात मत ल्याउँदा रिजालले जम्मा ३९ मतमा चित्त बुझाउनुपरेको थियो ।
मोरङ सुुनसरी औद्योगिक करिडोरमा रहेको शिवम् अर्गनाइजेसनका अध्यक्ष समेत रहेका राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् । अहिले उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ । महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक चार जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन । यी निर्विरोध भएका सबै पदाधिकारी राउत प्यानलका नै रहेका छन् । एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।
अध्यक्ष राउतले देशको अर्थतन्त्र निकै असहज अवस्थामा रहेको र उद्योग तथा व्यवसायहरू सुस्त, लगानीको वातावरण अनिश्चित एवं समग्र निजी क्षेत्रको मनोबल कमजोर बनेको बताए । आर्थिक क्षेत्रमा सुधारका संकेतहरू देखिए पनि देशभित्र र बाहिर अनपेक्षित रुपमा उत्पन्न परिस्थितिका कारण थप अन्योलता र चुनौतीको सामना गर्नुपर्ने अवस्था आइपरेको उनको भनाइ छ । अध्यक्ष राउतले अर्थमन्त्रीले लिएको नीतिगत सुधार, निजी क्षेत्रमैत्री दृष्टिकोण, पुराना कानुन खारेज गर्ने पहल र ‘डेलिभरी’ केन्द्रित कार्यशैलीको प्रतिवद्धतालाई आफूले सकारात्मक संकेतका रूपमा लिएको बताए । सरकारद्वारा डिजिटल सेवा प्रवाह, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र लगानीमैत्री वातावरण निर्माण जस्ता विषयहरू समेटी निजी क्षेत्रसँग सहकार्य बढाउने लक्ष्य राखेको हुँदा उक्त कामका लागि उद्योग वाणिज्य माहासंघ कोशी प्रदेश सरकारसँग हातेमालो गर्न तयार रहेको उनले बताए ।