काठमाडौं, पुस १०
खाडी मुलुक पठाउने नाममा युवाहरुसँग गैरकानुनी रुपमा रकम लिने गोंगबुस्थित आरबी ओभरसिजमा वैदेशिक रोजगार विभागले मंगलबार छापा मारेको छ । ओभरसिजले युवाहरुलाई विदेश पठाउने नाममा लाखौं रुपैयाँ ठगी गरेको भन्दै विभागमा उजुरी दिएसँगै विभागले सो मेनपावरमा छापा मारेको जनाएको छ ।
विभागका महानिर्देशक भीष्म कुमार भुसालले आरबि ओभरसिजका सञ्चालक ऋषिराम कँडेलले आफ्ना कर्मचारीमार्फत खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै युवाहरुसँग अनावश्यक रकम लिएको अवस्थामा फेला परेकोे बताए । भोजपुरका पासाङ्ग नोर्बु शेर्पा यूएईस्थित सेक्यूरिटी कम्पनीमा काम लगाउने भन्दै कँडेलले लागतभन्दा बढी रकम असुल्न खोजेका थिए । विभागका अनुसार कंडेलले युएई पठाउने नामा शेर्पासँग पाँच लाख रुपैयाँ माग गरेको थिए ।
सोही रकम लिने क्रममा विभागले कँडेल र उनका सहयोगीलाई रङ्गेहात फेला पारेको महानिर्देशक भुसालले बताए । शेर्पाले ५० हजार पहिले नै नगद दिएका थिए । उनले २५ हजारजति कम गरिदिन भने पनि सञ्चालक नमानेको बताइएको छ । विभागका अनुसार कंँडेलले शेर्पालाई पाँच लाख नगद नबुझाउँदासम्म श्रम स्वीकृतिका लागि पेश नै नगर्ने बताउँदै आएसँगै उनले पाँच लाख दिने तयारी गरेका हुन् ।
विदेशमा काम गर्न जाने तयारीमा भए पनि सो रकम नलाग्ने भन्दै उनले विभागमा उजुरी दिएका थिए । विभागमा उजुरी गर्दा समेत उनलाई विदेश जानै नपाइने हो कि भनेर चिन्ता व्यक्त गरेका थिए । विभागले छापा मार्ने क्रममा भने शेर्पाको भिसा लागिसकेको पासपोर्ट समेत बरामद गरेको छ । विभागले सो मेनपावरविरुद्ध थप कारबाही प्रक्रिया समेत अघि बढाएको जनाएको छ ।