काठमाडौँ । विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा आज मंगलबार यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताएकी छिन् ।
मानव, पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ नाराका साथ नेपालसहित विश्वभर मंगलबार विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
मन्त्री मेहताले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताएकी हुन् । उनले मानव, पशुपन्छी र वातावरण एकअर्काबीच घनिष्ठ सम्बन्ध रहेकाले प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नहुँदासम्म मावन जाति पूर्णरुपमा स्वस्थ रहन नसक्ने बताइन् ।
जनावर तथा पशुपन्छीबाट मानवमा सर्ने रोगको जोखिम बढिरहेको उल्लेख गर्दै मन्त्री मेहताले जलवायु परिवर्तनका कारण कीटजन्य रोग वृद्धि भइरहेको बताइन् । उनले रोगको सम्भावित जोखिम कम गर्न व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई खोप लगाउन, स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै एन्टीबायोटिक औषधि प्रयोग गर्न र वातावरण स्वच्छ राख्नेतर्फ आमजनतालाई आह्वान गरिन् ।