नेपालको कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रको मूल आधारको रूपमा काम गर्दै आएको छ । यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २१ देखि २५ प्रतिशत योगदान पुर्याउँछ र देशको करिब ६० प्रतिशत जनसंख्यालाई रोजगारी प्रदान गर्दछ । तर, हालको आर्थिक मन्दी, कोभिड–१९ महामारीपछिको प्रभाव, मुद्रास्फीति, बेरोजगारी र आयात–निर्भरताका कारण कृषि क्षेत्र सुस्ताएको छ । यही सन्दर्भमा नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा गत चैत्र १९ देखि २३ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना भएको तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८२ ले हरित अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यो एक्स्पो केवल विरुवा प्रदर्शन र बिक्रीको मेलामात्र नभएर, बरु यसले देशको कृषि अर्थतन्त्रलाई नयाँ गति दिने, रोजगारी सिर्जना गर्ने, प्रविधि हस्तान्तरण गर्ने र निर्यातसम्भावना बढाउने रणनीतिक मञ्च हो । यो एक्स्पोले नर्सरी क्षेत्रको एकीकृत महाकुम्भको रूपमा काम गर्दछ । यसमा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका विरुवा, मलखाद, बिउबिजन, गमला, औजार तथा आधुनिक प्रविधिहरू प्रदर्शन र बिक्री गरेको बुझिन आएको छ । कुल ६५ वटा स्टल (५६ वटा व्यावसायिक) मार्फत देशभरिका नर्सरी व्यवसायीहरूले भाग लिएका थिए । आयोजकहरूका अनुसार कम्तीमा ५१ हजार अवलोकनकर्ता आउने र डेढ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ । यो एक्स्पोले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई पुनःजीवित गर्ने, लगानी विस्तार गर्ने र कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । नेपालको नर्सरी क्षेत्रमा हाल ११.८३ अर्ब रुपैयाँ लगानी छ, वार्षिक ६.४३ अर्ब रुपैयाँको कारोबार हुन्छ र ३ हजार ९ सय १ भन्दा बढी नर्सरीबाट १ लाख २० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिइरहेको छ । यसरी यो एक्स्पोले स्थानीय अर्थतन्त्रलाई मात्र होइन, राष्ट्रिय स्तरमा हरित विकासको मोडेल प्रस्तुत गर्दछ ।
राष्ट्रको भौगोलिक विविधता र जलवायु विविधताले बागवानी (हर्टिकल्चर)लाई अत्यन्त सम्भावनायुक्त क्षेत्र बनाएको छ । हिमाली, पहाडी र तराई क्षेत्रमा फरक–फरक जलवायुका कारण सयौं प्रजातिका फलफूल, तरकारी, पुष्प, जडिबुटी र कृषि वनजन्य बिरुवा उत्पादन गर्न सकिन्छ । फलतः कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार बागवानी क्षेत्रले कृषि जीडीपी (एजीडीपी) मा ३८.५९ प्रतिशत योगदान पुर्याउँछ । यसमा तरकारी २०.४८ प्रतिशत, आलु १०.५१ प्रतिशत, फलफूल ५.१३ प्रतिशत र मसलाहरू २.३७ प्रतिशतको हिस्सा छ । कुल कृषि क्षेत्रले राष्ट्रिय जीडीपीमा २७.६ प्रतिशत योगदान गर्दछ । जसमा भन्ने नै हो भने बागवानीको हिस्सा भने ९.६८ प्रतिशत रहेकोछ । जुन बागवानी उच्च मूल्यका उत्पादनहरूका लागि परिचित छ । यसले किसानहरूलाई परम्परागत खेतीभन्दा बढी आम्दानी दिन्छ । उदाहरणका लागि, फूलखेती (फ्लोरिकल्चर)ले मात्र ५३ हजार ५ सय भन्दा बढी रोजगारी सिर्जना गरेको छ र महिलाहरूको ६० प्रतिशत सहभागिता छ । जडिबुटी र फलफूल निर्यातले विदेशी मुद्रा आर्जन गर्दछ । तर, यसमा चुनौतीहरू पनि कम छैनन् । जसले गर्दा आर्थिक मन्दीले लगानी घटाएको छ, बजार पूर्वाधार अपर्याप्त छ, प्रविधि र ज्ञानको अभाव छ र आयातित बिरुवा तथा उत्पादनले स्थानीय नर्सरीलाई प्रभावित पारिरहेको छ । यही सन्दर्भमा नेसनल हर्टिकल्चर एक्स्पोहरूले बजार सिर्जना, प्रविधि आदानप्रदान र किसान–व्यवसायीबीच सञ्जाल निर्माण गर्ने काम गरिरहेका छन् ।
नर्सरी व्यवसायी संघ नेपालले २०८० सालमा पहिलो नेसनल हर्टिकल्चर एक्स्पो आयोजना गरेको थियो । जुन भृकुटिमण्डपमा आयोजित उक्त एक्स्पोले ८८ वटा स्टल (७४ व्यावसायिक)मार्फत हजारौं अवलोकनकर्ता आकर्षित गरेको थियो । यसले नर्सरी व्यवसायलाई व्यावसायिक बनाउने र नयाँ प्रविधि भित्र्याउने काम गरेको थियो । दोस्रो संस्करण २०८१ मा चैत्र अन्तिम साता आयोजित भयो । यसमा पनि ७ सय भन्दा बढी प्रजातिका बिरुवा प्रदर्शन गरियो र १ करोड २५ लाखभन्दा बढीको कारोबार भयो । यसमा पनि सम्बन्धित एक्स्पो संयोजकको भनाइअनुसार दोस्रो एक्स्पोले नयाँ उद्यमीहरूलाई प्रोत्साहित गरेको र हरित अर्थतन्त्रप्रति जनचेतना बढाएको थियो । त्यसरी नै तेस्रो संस्करण यसै वर्षको चैत्र १९ देखि २३ मा भएको थियो । यसले पहिलो र दोस्रोको सफलतालाई निरन्तरता दिँदै थप विस्तार गरेको छ । जसमा भन्ने नै हो भने संघको स्थापना २०८० असोज १५ मा भएको हो र यसले हालसम्म ५ वटा सहआयोजकहरूमार्फत सम्पन्न गरिसकेको छ । तसर्थ यसमा सहआयोजकहरूमा पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि मन्त्रालय, कृषि विभाग, राष्ट्रिय फलफूल विकास केन्द्र आदि छन् । यसले सरकारी–निजी साझेदारीको मोडेल प्रस्तुत गर्दछ । यो एक्स्पोले प्रत्यक्ष रूपमा आर्थिक कारोबार बढाउँछ । डेढ करोडको अनुमानित कारोबारले स्थानीय व्यापार, होटल, यातायात र पर्यटनलाई फाइदा पुर्याउँछ । अप्रत्यक्ष रूपमा यसले लगानी आकर्षित गर्दछ । देशको यस नर्सरी क्षेत्रमा ११.८३ अर्ब लगानी छ, तर एक्स्पोले नयाँ उद्यमीहरूलाई प्रोत्साहन दिन्छ । फलतः बेरोजगारीको समस्या समाधान गर्न यो क्षेत्र महत्वपूर्ण छ । वस्तुतः यस क्षेत्रले १ लाख २० हजार रोजगारी दिइरहेको क्षेत्रलाई एक्स्पोले थप विस्तार गर्दछ । राष्ट्रमा विद्यमान हरित अर्थतन्त्रको विकासमा यसको योगदान उल्लेखनीय छ । यसमा खासगरीकन बिरुवा उत्पादनले कार्बन संकलन गर्दछ, पर्यावरण संरक्षण गर्दछ र स्वच्छ वातावरण सिर्जना गर्दछ । मुलुकमा गरिएको फूलखेती र जडिबुटीले निर्यात बढाउँछ । नेपालले भारत, बंगलादेश र चीनमा फूल र जडिबुटी निर्यात गर्दछ । एक्स्पोले बजार पूर्वाधार र मूल्य शृंखला विकास गर्दछ । यसले किसानहरूलाई प्रत्यक्ष लाभ दिन्छ । जसलेगर्दा उनीहरूले नयाँ प्रजाति, प्रविधि र बजार जानकारी प्राप्त गर्दछन् । यसले आर्थिक मन्दीमा कृषि क्षेत्रलाई चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्छ । हाल नेपालको कुल जीडीपी वृद्धि ४ देखि ५ प्रतिशतमा सीमित छ । कृषिले ६० प्रतिशत जनतालाई रोजगारी दिँदा पनि योगदान कम छ । एक्स्पोले उच्च मूल्यका बागवानी उत्पादनलाई प्रोत्साहन दिएर जीडीपी वृद्धि गर्दछ । यसले आयात घटाउँछ र निर्यात बढाउँछ । उदाहरणका लागि, फ्लोरिकल्चरले वार्षिक लाखौं फूल उत्पादन गर्दछ र रोजगारी सिर्जना गर्दछ ।
मुलुकमा बागवानी क्षेत्रमा धेरै चुनौतीहरू विद्यमान रहेका छन् । त्यसमा पनि पूर्वाधार अभाव, प्रविधि कमी, बजार पहुँच नहुनु, जलवायु परिवर्तन र युवा पलायन रहेका छन् । तर, एक्स्पोले यी चुनौतीहरूलाई समाधान गर्ने आशा गर्न सकिन्छ । यस किसिमको प्रतिस्पर्धा र पुरस्कारले गुणस्तर बढाउँछ । यसर्थ यस कार्यमा सरकारी सहयोगमा कृषि मन्त्रालय, प्रदेश सरकारले नीतिगत समर्थन दिन्छ । जसको कारणले गर्दा अवसरहरूमा जलवायु अनुकूल बिरुवा, पर्यटनमा होर्टि–टुरिजम, मूल्य अभिवृद्धि प्रोसेसिङ आदि रहेका छन् । यसको साथसाथै नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागवानी विकास कार्यक्रम सञ्चालन गर्दैछ । यस्ता खालका एक्स्पोले यी नीतिलाई व्यावहारिक रूप दिन्छ । फलतः भविष्यमा यो एक्स्पो अन्तर्राष्ट्रिय स्तरको बन्न सक्छ । यसले हरित अर्थतन्त्र, दिगो विकास लक्ष्य (एसडीजी) र आत्मनिर्भर नेपाललाई सघाउँछ ।
निचोडमा भन्नुपर्दा तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८२ ले नेपालको अर्थतन्त्रलाई हरित र चलायमान बनाउने महत्वपूर्ण कदम पनि हो । संघकाअनुसार नेपालको नर्सरी क्षेत्रले वार्षिक ६ अर्ब ४३ करोडको कारोबार गर्ने गरेको छ । देशभर रेहका ३ हजार ९ सय १ वटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले १ लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जनाएको छ । संघकाअनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरूले ११ अर्ब ८३ करोड लगानी गरेका छन् । मूलतः यसले रोजगारी, लगानी, प्रविधि र बजार विस्तार गर्दछ । तसर्थ यसमा पनि सबै नागरिक, किसान, उद्यमी र नीति निर्माताले यसलाई सफल बनाउनुपर्छ । अतः यो एक्स्पोले नेपाललाई बागवानीमा आत्मनिर्भर र निर्यातकर्ताको हैसियत बनाउने छ । जसलेगर्दा हरियो नेपाल, समृद्ध नेपालको सपना साकार पार्न यो एक्स्पो एउटा महत्वपूर्ण माइलस्टोन हुने छ ।