काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम नेपाल स्टक एक्सचेन्जले धितोपत्रसम्बन्धी प्रचलित कानुनको अधिनमा रही संगठित संस्थाले जारी गर्न लागेको प्रति सेयर अंकित एक सय रुपैयाँ बराबरको चार लाख २४ हजार छ सय कित्ता साधारण सेयर बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताहरूको लागि नेपाल धितोपत्र बोर्डको पत्र अनुसार नेप्सेसंग सम्झौता गरेको हो ।
बुक बिल्डिङ्ग निर्देशिकाअनुसार शिलबन्दि बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सोको निर्णय गर्ने कार्य गर्नको लागि नेप्सेले सहजिकरण गर्ने लगायतका अन्य सर्तहरू पालना गर्ने गरी नेपाल स्टक एक्सचेन्ज र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न भएको हो । सम्झौतामा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । साथै कम्पनीको तर्फबाट कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र सेयर बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टको तर्फबाट मनोहर कडेलको उपस्थिति रहेको थियो ।
टाइम फर्मास्युटिकल्स लिमिटेडले १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ८६ हजार पाँच सय कित्ता साधारण सेयर बुक बिल्डिङ्ग विधिमार्फत सेयर निष्कासन गर्ने तयारी गरेको छ । उक्त सेयरमध्ये ४० प्रतिशत सेयरयोग्य संस्थागत लगानीकर्ताहरूका लागि र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि सार्वजनिक निष्कासनद्वारा बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ हुने छ ।
टाइम फर्मास्युटिकल्स लिमिटेड कम्पनी विगत ३० वर्षदेखि नवलपरासी जिल्लाको गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा उत्पादन प्लान्ट (उद्योग) साथै ललितपुर सातदोबाटोमा मार्केटिङ्ग कार्यालय स्थापना गरी करिब तीन सय जना कर्मचारीहरूलाई प्रत्यक्ष रोजगारी दिई करिब दुई सय भन्दा बढी गुणस्तरीय औषधिहरू उत्पादन गरिरहेको छ ।