काठमाडौं । यामाहा नेपालले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजनको प्रायोजन गर्ने भएको छ ।
यामाहाले प्रतियोगिताको आधिकारिक ‘पावर्ड बाई’ प्रायोजक बनेको हो । युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको कम्पनीले जनाएको छ । एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघद्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो । मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिने कम्पनीले जनाएको छ । प्रतियोगिता वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ । यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफजस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काल पीएम कप २०२६ मा यामाहाको सहभागिताले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने बताए । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा खुशी लागेको बताए ।