काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पछिल्लो समय पश्चिम एसियामा छाएको अशान्तिका कारण कच्चा तेलको मूल्य बढेपछि गाडी भाडा वृद्धि भएको हो ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर समायोजन गरिएको उल्लेख गरेको छ । विभागले भाडावृद्धि अगाडि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग प्रस्ताव गरेको थियो । उनले स्वीकृति दिएसँगै भाडा बढाइएको हो ।
यसअनुसार दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीअनुसार समायोजना गरिएको विभागले उल्लेख गरिएको छ । यसअनुसार यात्रुवाहक सवारीको भाडा स्वचालित समायोजनअनुसार १६.७१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा २१.६८ प्रतिशतले बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढेको छ ।
विभागका अनुसार १३ सूचको विश्लेषणपछि र इन्धनको मूल्य परिवर्तनका कारण भाडा बढाइएको हो । यसअनुघि ०८१ पुस २२ मा भाडा समायोजन गरिएको थियो ।