काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा देउवाविरुद्ध शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरेको छ । विभागले काठमाडौं जिल्ला अदालतबाट उनीहरुविरुद्ध पक्राउ अनुमति लिएको हो । यद्यपि कुन प्रमाण फेला पारेर पक्राउ अनुमति लिएको बारेमा केही खुलाइएको छैन । तर, गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि विभिन्न उजुरीको विषयमा विभागले अनुसन्धान गरेपछि देउवा दम्पतीसँग थप बुझ्नका लागि अदालतबाट अनुमति लिएको हो ।
विभागले पक्राउ पुर्जी लिएपछि पूर्वप्रधानमन्त्री देउवाले बुधबार नै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो जीवन एउटा खुला पुस्तक जस्तै रहेको भन्दै आफू भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर लागेको र आफू नै गृहमन्त्री भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण ऐन जारी भएको थियो । देउवा २०४८ सालमा गृहमन्त्री भएका थिए त्यही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र पछि प्रधानमन्त्री भएको बेला २०५९ सालमा भ्रष्टाचार निवारण ऐन, २०५९ जारी भएको थियो ।
देउवाले आफ्नो सम्पत्ति खुला पुस्तक जस्तो भएको दाबी गरे पनि उनकी श्रीमती आरजुको सम्पत्ति र उनको काण्ड बारे पटकपटक प्रश्न उठ्दै आएको छ । ती सबै काण्ड शक्तिको आडमा दबाईएको काँग्रेसकै नेताहरुको दाबी छ । त्यही भएर उनीमाथि भइरहेको छानबिनको बारेमा नेपाली काँग्रेसको गगन थापा पक्ष मौन छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनको सम्पत्तिको बारेमा छानबिन गरिरहेको स्रोतको दाबी छ । देउवा परिवारको नाममा धेरै जग्गा फेला पारेपछि विभागले त्यसको स्रोत खोतल्ने क्रममा अदालतबाट पक्राउ पुर्जी लिएको हो ।
काठमाडौंलगायत देशका मुख्य शहरमा ७० रोपनी भन्दा बढी जग्गा रहेको विभागको अनुसन्धानले देखाएको स्रोतको दाबी छ । उक्त जग्गा कुन स्रोतबाट खरिद गरिएको भन्ने बारेमा विभागलाई फेला पार्न सकेको छैन । देउवाले भने आफू विदेशम उपचार गराइरहेको र केही समय लाग्ने दाबी गरेका छन् । उनले आफू कुन देशमा छु भनेर सामाजिक सञ्जालमा केही बताएका छैनन् ।
बुढानिलकण्डस्थित देउवा निवासमा गत भदौ २४ गते आगजनी भएपछि उनी केही समय काठमाडौंमा भाडामा बसेर अहिले उपचारको लागि भनेर विदेश गएका हुन् । नेपालमा आन्दोलन सुरु नहुँदै उनको छोरा विदेश गएका थिए । देउवा उपचारका लागि सिंगापुर गएको बताइए पनि त्यसपछि कता गए भन्ने बारेमा केही अत्तोपत्तो छैन । आरजुमाथि अबैध रुपमा सम्पत्ति कमाएको आरोप लाग्ने गरेको छ । अनुसन्धान हुँदा मात्र त्यसको पुष्टि हुनेछ । उनी पछिल्लो समयमा नक्कली शरणार्थी प्रकरणमा समेत मुछिएकी थिइन भने टीकपुर जग्गा हिनामिना प्रकरणमा पनि उनी जोडिएकी छिन् ।
स्रोतका अनुसार इन्टरपोलमार्फत पक्राउ गर्न विभागले अदालतबाट पक्राउपुर्जी लिएको हो । नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउँनुपर्नेछ ।