विराटनगर । पुर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले खुला सीमाबाट हुने तस्करी नियन्त्रण गर्न सरकारसंग आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका लागि राजस्व परामर्श समितिको छलफलमा उद्योगीहरूले तस्करीको कारण राजस्व चुहावट हुने गरेको बताएका थिए । उनीहरूले तस्करी नियन्त्रण गरे वैधानिक रूपमा व्यवसाय गर्ने व्यवसायी र सरकार दुवैलाई फाइदा हुने बताए । छलफलमा अर्थमन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । सचिव उपाध्यायले सरकार मुलुकमा रोजगारी एवं आर्थिक क्रियाकलाप वृद्धिका लागि निजी क्षेत्रलाई सहजीकरण गर्दै अगाडी बढ्ने बताए । कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले निजी क्षेत्रको मागअनुसार भन्सार क्षेत्रमा सुधार गरिएको बताए । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले अव व्यापारी उद्योगीहरूले पनि राजस्वको मल्टिरेट दरमा जान तयार हुनुपर्ने उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यवसायी एवं लगानीको सुरक्षाको वातावरण हुनुपर्ने सुझाव दिए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग परिसंघका अध्यक्ष पवन शारडालगायतका सबै उद्योगिहरूले एक स्वरमा मोरङ सुनसरी औद्योगिक करिडोरसँगै नेपाल भारतबीचमा रहेको खुला सीमानाकाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न अव सरकार गम्भीर भएर लाग्न सुझाव दिएका थिए ।