काठमाडौं । विश्व बैंकले मध्यपूर्वमा जारी द्वन्द्व र जेन–जी आन्दोलनका बीच पनि आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर मध्यम रहने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले नेपालको आर्थिक वर्ष २०८२/८३ मा २ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेको हो । मध्यपूर्वमा जारी द्वन्द्व र भदौमा भएको जेनजी आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ तुलनामा यसवर्ष घट्ने प्रक्षेपन गरेको हो । आर्थिक वृद्धिदर गत आवको ४ दशमलव ६ प्रतिशतको तुलनामा घटेर आर्थिक वर्ष २०८२/८३ मा २ दशमलव ३ प्रतिशतमा सीमित हुने विश्व बैकले प्रक्षेपण गरेको छ । आगामी दिनलाई हेर्दा पुनर्निर्माण कार्य, जलविद्युत्को निरन्तर विस्तार र २०८४ सालमा हुने प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर औसत ४ दशमलव ४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।
विश्वक बैकले बुधबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट ‘आर्थिक वृद्धि दबावमा आन्तरिक र विश्वव्यापी आघातहरूको सामना’ प्रतिवेदनले सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति शृंखलामा आउन सक्ने सम्भावित अवरोधका कारण आर्थिक वर्ष २०८२/८३ मा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरेको छ । आर्थिक परिदृश्य अझै पनि ज्यादै अनिश्चित रहेको प्रतिवेदनमा उल्लेख छ । मध्यपूर्वमा लम्बिएको द्वन्द्वले पर्यटकको आगमन घटाउन सक्ने, विप्रेषण प्रवाहमा कमी ल्याउन सक्ने, उपभोग कमजोर बनाउने र समग्र आर्थिक गतिविधिलाई सुस्त बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सुधारिएको राजनीतिक स्थिरता, सबल समष्टिगत आर्थिक व्यवस्थापन, पर्याप्त विदेशी विनिमय सञ्चिति र निरन्तर संरचनागत सुधारले लगानीकर्ताको मनोबल केही ऊँचो बनाएर निजी लगानी र वृद्धिलाई केही बढावा दिन सक्ने पनि प्रतिवेदनले औंल्याएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले नेपालको आर्थिक उत्थानशीलतालाई सुदृढ र थप रोजगारी सिर्जना गर्न निजी क्षेत्रको नेतृत्वमा हुने आर्थिक वृद्धिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यसका लागि नेपालले व्यावसायिक वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ । ‘आधारभूत पूर्वाधारको विकास गर्नुपर्छ, निजी लगानी परिचालन गर्नुपर्छ । पर्यटन, सूचना प्रविधि तथा कृषि व्यवसाय जस्ता प्राथमिकताका क्षेत्रहरूलाई सहयोग प्रदान गर्नुपर्छ’, उनले भने ।