(विकिपिडियामा राजनीतिक भ्रष्टाचार : भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूविरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचार बेइमानी वा आपराधिक अपराधको एक रूप हो, जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् । जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताका साथ कार्य गर्दा हुन्छ ।)
संसद्मा तेस्रो हैसियतमा रहेको नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा यसका उपाध्यक्ष रामबहादुर थापा बादल यो हप्ता नियुक्त भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका बताइएको छ । अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
यसअघि थापा एमाले संसदीय दलको नेतामा निर्वाचित भएका थिए । दलको नेता छान्न चैत १८ मा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बसेको थियो । बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट बादल निर्विरोध भएका हुन् । एमालेको संसदीय दलको बैठकमा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए । तर उमेदवारी दर्ताका लागि उनले समर्थक र प्रस्तावक नै नपाएको बताइएको छ । एमालेका लागि यी कार्यवाहक अध्यक्ष र संसदीय दलका नेता बादल यस्ता पात्र हुन्, जो सुशासनका हिसाबले दागरहित भने होइनन् । करिब दुई वर्ष पहिलेदेखि चर्चामा आएको नक्कली शरणार्थी प्रकरणमा यदि राम्रोसंग अनुसन्धान भएमा बादल पनि दोषी करार हुने थिए होलान् ।
उनी गृहमन्त्री भएको बेला सिर्जित नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दर्जनजतिको संलग्नता प्रारम्भिक रुपमा पुष्टी भइसकेको छ । आरोपितमध्ये धेरैजना पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका मुख्य मानिएका अभियुक्तहरूले दिएका बयानलाई आधार मान्ने हो भने बादल आफैँ र आफ्ना वरिपरीका गरी पाँचजनाले प्रत्यक्षरुपमा करोडकाकरोड रकम लिएको भन्ने देखिन्छ । तीमध्ये उनका छोरासहित दुईजना त यतिबेला पनि थुनामै छन् ।
परिवार नै मुछिएको अवस्था
बादल २०७४ को आम निर्वाचनपछिको सरकारका गृहमन्त्री थिए । यो घटना उनको त्यो कार्यकालकै हो । त्यसबेला नेपालमा रहेका भुटानी शरणार्थीरुलाई तेस्रो देश पठाउने सन्दर्भमा छुटमुट भएकाहरूको अध्ययन गर्न समिति बनेको थियो । त्यसैमा छेडाखानी गरेर योजनाकारहरूले जोसुकैलाई रकम लिएर अमेरिका पठाउने योजना बनाए । यो क्रममा दुईजना गृहमन्त्री, दुईजना गृहसचिव, गृहमन्त्रीका विज्ञ सल्लाहकार, स्वकीय सचिव र गृहमन्त्रीकै श्रीमतीहरूको संलग्नाता देखिन्छ । यसमा बादलका परिवार नै संलग्न रहेका भनेर प्रमुख अभियुक्तहरूले गरेका बयानमा देखिन्छ ।
प्रहरी, सरकारी वकिल र अदालतमा लिइएका दिइएका ती बयानमा भनिए अनुसार यो प्रकरणमा ठूलो धनराशी लिएका मध्ये एकजना उनी आफैँ हुन्भने दोस्रोमा उनकी पत्नी । तेस्रोपात्र उनका स्वकीय सचिव रहेका छोरा र चौथोमा गृहमन्त्रालयका उनका सुरक्षा सलाहकार तथा उनैले नियुक्त गरेका तत्कालीन गृहसचिव पर्छन् । गृहसचिव पनि उनी आफैँले नियुक्त गरेका पदाधिकारी भएका कारण परिवारभित्रका सदस्य नभए पनि निकट त मानिन्छ नै ।
मुख्य भनिएका अभियुक्तका बयानकै आधारमा उपप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिवसहितका तीन दर्जनजति व्यक्ति पक्राउ परे । बादलकै छोरा पनि त्यही बयानका आधारमा समातिएका हुन् । यसको अर्थ हो बयान निराधार थिएन । बयान पनि कस्तो भने दुई अभियोगीले अलगअलग दिएका बयानको कुरा भने समान देखिएका छन् ।
यही बयनका आधारमा अरुमाथि अनुसन्धान चल्यो । अदालतमा मुद्दा दायर भएर पुर्पक्षका लागि धेरैजसो थुनामा पनि गए । केहीले भने ठूलो धनराशीको धरौटी बुझाएर तारिखमा बसे । तर उनी अर्थात् बादल उनकी पत्नी तथा तत्कालीन गृहसचिव तथा हाल अख्तियारका प्रमुख आयक्तमथि भने छानविन नै भएन । त्यसकारण पनि बादल यो प्रकरणमा सधैँ दागीका रुपमा चर्चित भइरहने देखिन्छ । छानबिन भएर त्यो दाग पखालिएको भए यतिबेला एमालेको सर्वोच्च नेता छनौट भएको सर्वाधिक स्वागतको विषय हुने थियो होला । यदि अहिले सरकारले फेरि पुरक अनुसन्धानका लागि यो प्रकरण ब्युँतायो भने उनी पहिले जसरी जोगिने अवस्थामा नरहलान् । उनले एमालेको कार्यवाहक पाउँदा अध्यक्ष ओली थुनामै थिए ।
खासगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र उनकी पत्नी तथा छोरा र उनले नियुक्त गरेका मन्त्रालयका सचिव र विज्ञ सल्लाहकारका बारे हाल थुनामा रहेका कम्तीमा दुईजना प्रमुख योजनाकार भनी चिनाइएका अभियुक्त केशव दुलाल र सानु भण्डारीका बयान मिल्छन् । ती बयानका सम्बन्धित अंश :
बयान एक : केशव दुलाल, हाल पुर्पक्षका लागि थुनामा
प्रतिवादी सानु भण्डारीले डा. इन्द्रजित राईसँग त्रिपुरेश्वरमा रहेको आगन होटल भेट गरी उक्त रकम दिएको भनी मलाई भोली पल्ट जानकारी गराउनु भएको र सोही दिन डा. इन्द्रजित राई, म र सानु भण्डारी ३ जना भएको अवस्थामा डा. इन्द्रजित राईले उक्त रकम मैले लिएको भनी मलाईसमेत जानकारी गराएका हुन् । उक्त रकम दिएको भनी प्रतिवादी खानु भण्डारीले मलाईसमेत जानकारी गराएका हुन्। रकम दिएको भोलिपल्ट गृह मन्त्रालयमा रहेको डा. इन्द्रजित राईको कार्य कक्षमा म र सानु भण्डारी गएको अवस्थामाउक्त रकम मैले लिएको भनी जानकारी गराएका हुन् ।
प्रतिवादी सानु भण्डारीले निज नैनकला थापालाई समेत रकम दिएको भनी मलाई जानकारी गराएका हुन्, जानकारी पाएपछि सानु भण्डारी र म निज नैनाकला थापाका छोरा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख स्वकीय सचिव प्रतिक थापा मगरलाई नक्साल स्थित निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ होटलको १ तलामाथि प्रतिक थापालाई भेटेपछि निज नैनकला थापालाई प्रतिक थापा मगरले आमालाई फोन गरी पैसा पाउनु भयो भएन भनी सोध्दा पैसा पाएको कुरा प्रतिक थापालाई भनेपछि मेरो आमाले सानु भण्डारीसँग उक्त रकम लिएको भनी जानकारी गराएका हुन् ।
प्रतिवादी सानु भण्डारीले उक्त रकम दिइसकेको भनी मलाई जानकारी गराएका र हामी दुवैजनाले गृह मन्त्रालयमा रहेको निजकै कार्य कक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझिसकेको भनी मलाईसमेत जानकारी गराएका हुन् । प्रतिवादी सानु भण्डारीले तत्कालीन गृहसचिव प्रेम कुमार राईलाई उक्त रकम दिएको भनी मलाई जानकारी गराएपछि सानु भण्डारीसँग गृह मन्त्रालय गई डा. इन्द्रजित राईसँग सचिव प्रेम कुमार राईले उक्त रकम पाएको कुरा जानकारी गराएका हुन् । प्रतिवादी सानु भण्डारीले तत्कालीन नेपाल सरकारका ऊर्जा मन्त्री टोप बहादुर रायामाझी र निजको छोरा सन्दिप रायामाझीसमेतलाई पटक–पटक नगद र बैंक खातामा समेत पठाइदिएको भनी मलाई सानु भण्डारीले जानकारी गराएको र पछि टोप बहादुर रायामाझीको सातदोबाटोमा रहेको घरमा सानु भण्डारी र मसमेत गई वहाहरूसँग रकम पाए/नपाएको सम्बन्धमा बुझ्दा हामीले रकम पाइसकेका छौं भनी जानकारी गराएका हुन् । प्रतिवादी सानु भण्डारीले डा. इन्द्रजित राईलाई काम भएपछि दिनुपर्ने रकमका लागि घर जग्गा बैना गरेको झुठ्ठा कागज बनाएर राखेका छन् भनी जानकारी गराएको हुँदा मैलेसमेत थाहा पाएको हुँ । (मिति २०८०१०१।०६ गते प्रहरीले प्रतिवादी सानु भण्डारीको घर कोठा खानतलासी गर्दा निजको घरको तेश्रो तलामा रहेको दराज भित्रबाट २०१६ नबिल बैंक लेखिएको हरियोमा रातो रङ मिसिएको डायरी बरामद गरी ल्याएको हुँदा उक्त डायरी मलाई देखाउँदा देखी पाएँ, सो डायरीको १७ अप्रिल आइतबार ५ वैशाख २०७३ लेखिएको पानामा भुटानी शरणार्थीको लागि उठाइएको रकम विवरण भनी मिति २०७६०२–२९ गतेदेखि २०७६–०३–२७ सम्म मेरो नाम दुलाल मामा भनी उल्लेख गरी मैले बुझाएको रकमको विवरण देखिपाएँ, उक्त मेरो नामबाट जम्मा भएको मेरो आफैसँग भएको रकम हो ।
उक्त रकम डा. इन्द्रजित राईले मलाई र मेरो आफन्तहरूसमेतलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिन्छु त्यसको लागी केही रकम दिँदै गर्नु भनेको हुँदा निज इन्द्रजित राईलाई बुझाउनको लागि भनी उक्त रकम मैले प्रतिवादी सानु भण्डारीलाई दिएको हुँदा मैले दिएको रकमको विवरण निजले आफ्नो डायरीमा उल्लेख गरेका रहेछन् । उक्त रकम निज सानु भण्डारीले माथि क्यानमा उल्लेख भए अनुसारको ठाउँ र मितिमा डा. इन्द्रजित राईलाई बुझाएका हुन् । उक्त रकम मैले सानु भण्डारीलाई दिएकोमा मेरो घरायसी काम काजको लागि सापटी स्वरूप लिएको हुँ, रकम पछि फिर्ता गरिसकें, प्रतिवादी सानु भण्डारीले मलाई दुलाल मामा भनी सम्बोधन गर्ने भएको हुँदा डायरीमा दुलाल मामा भनी लेखेका रहेछन्। म आफू र मेरो अन्य आफन्तहरूसमेतलाई भुटानी शरणार्थी बनाइ अमेरिका लगिदिने भनी डा. इन्द्रजित राईसमेतले कुराकानी गरी रकमसमेत लिई विश्वास दिलाएको र सोही विषयका समाचारहरू पत्र पत्रिकामा प्रकाशित भएको हुँदा सोही समाचारहरूमा प्रकाशित भएका विवरणहरू मैले मेरो मोबाइलमा फोटो खिची राखेको हुँदा उक्त विवरण मेरो मोबाइलमा देखिएको हुनुपर्दछ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतिक थापामार्फत मन्त्री क्वाटर पुलचोकमा बोलाइ निज रामबहादुर थापा बादल राष्ट्रिय सभागृहको चुनाव हुनुभन्दा अगाडि ३,००,००,०००/– (तिन करोड) रुपैयाँ नगदै बुझिलिएको, प्रतिक थापाले नक्साल निलगिरी थकाली भन्सा घरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा १,००,००,०००/– (एक करोड) रुपैयाँ बुझी लिएको, त्यसै गरी तत्कालीन गृह सचिव प्रेम कुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्य कक्षमा बोलाई मिति २०७६ साल श्रावण महिनामा ३,००,००,०००/– (तिन करोड) रुपैयाँ नगदै बुझिलिएको, तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जा मन्त्री टोप बहादुर रायामाझीका प्रमुख स्वकीय सचिव लिला जीसीमार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा १,००,००,०००/– (एक करोड) रुपैयाँ नगदै बुझिलिएको, तत्कालीन ऊर्जा मन्त्री टोप बहादुर रायमाझी प्रमुख स्वकीय सचिव लिला जीसीले प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ, ऊर्जा मन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जा मन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका १,००,००,०००/–(एक करोड) रुपैयाँ नगदै बुझिलिएका हुन्, त्यसै गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजय क्रान्ती शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अन्जना शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जा मन्त्री टोप बहादुर रायामाझीसँग मिटिङ गराई सकेपछि तपाईंहरूको काम हुने भयो भनी डा. अजय क्रान्ती शाक्य र राजेश्वर स्थापितले जनही १,००,००,०००/– (एक करोड) रुपैयाँ बुझिलिएका हुन् ।
काम नभएपछि पटक–पटक रकम फिर्ता माग्दा धाक धम्की दिई हामी पावरमा छौं, तिमीहरूको केही लाग्दैन हामीलाई फोन सम्पर्क गर्ने, भेट्ने काम नगर्नु भनी प्रतिक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरूले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं ६० प्रतिशत लानु भनी प्रतिक थापामार्फत नाम्लो रेस्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरूसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरूसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुठ्ठा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुठ्ठा मुद्दाबाट सफाई पाउँ भन्नी प्रतिवादी केशव प्रसाद दुलालको थप बयान ।
बयान दुई : सानु भण्डारी हाल पुर्पक्षकालागि थुनामा
मैले मिति २०७६ साउन २५ गते मन्त्री क्वार्टर, पुल्चोकमा गई नैनकला थापा (तत्कालीन गृह मन्त्री रामबहादुर थापाकी श्रीमती)लाई नगदै १ करोड रुपैयाँ बुझाएको हुँ । मलाई डा. ईन्द्रजीत राई (गृहमन्त्री थापाका सल्लाहकार)ले यो गाडी गृह सचिव(प्रेमकुमार राई) ज्यूको हो, उक्त रकम गाडीमा राखिदिनु भनी मलाई भनेको हुँदा मैंले साथमा लिई गएको नगद रकम १ करोड गाडीमा राख्न लगाई मलाई सचिव राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र, ‘अब तपाईंहरूको काम हुन्छ’ भनी गृहसचिव राईले मलाई भनेकाले निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ ।