काठमाडौं । बैंकिङसम्बन्धी कसूर मुद्दाका फरार दुईजना प्रतिवादीहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–५ घर भएका ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका–४ बालकोट बस्ने काठमाडौं घर भएकी ३६ वर्षीया रिता प्रधान पौडेल रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट २०८२ जेठ २७ गते र २०८२ माघ ४ गतेको फैसलाबमोजिम बैंकिङ कसुर मुद्दामा नगद चार लाख ७५ हजार रूपैयाँ जरिवाना र चार महिना पाँच दिन कैद तथा क्षतिपुर्ती १९ हजार रूपैयाँ ठहर भई फरार रहेका निकेशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्वर नगरपालिका–५ बाट सोमबार पक्राउ गरेको हो ।
यसैगरी जिल्ला अदालत काठमाडौंबाट २०८२ माघ ४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा नगद ३७ हजार ५ सय रूपैयाँ जरिवाना र दुई दिन कैद तथा क्षतिपुर्ति एक हजार पाँच रूपैयाँ ठहर भई फरार रहेकी रितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–४ बालकोटबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्यवनको लागि जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।