काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा कार्यालयहरूमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एक दिने तालिम प्रदान गरेको छ ।
प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका सबै शाखा कार्यालयहरू र लुम्बिनी प्रदेशअन्तर्गतका केही शाखा कार्यालयहरू गरी एक सय ६० जना अभिकर्ताहरूलाई महेन्द्रनगर शुक्लाफाँटा स्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
कम्पनीका सहायक महाप्रवन्धक विवेक शर्माले पानसमा द्विप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागिहरूलाई स्वागत गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरूमार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।
यसैगरी, कार्यक्रममा विभिन्न शाखामा रहि उत्कृष्ट कार्य गरी शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई सहायक महाप्रवन्धक शर्माले मायाको चिनो प्रदान गरेका थिए । सहभागी अभिकर्ताहरूले आप्mनै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराइ दिएकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरूले सम्मान प्राप्त गर्दा आफुले गरेको मेहेनत कदर भएको बताएका थिए ।