काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगमार्फत आफ्नो उत्पादन क्षेत्रलाई तीव्ररूपमा रूपान्तरण गरिरहेको छ । यसको एक उत्कृष्ट उदाहरण सेरेस हो, जुन चोंगकिंगमा अवस्थित एक अटोमोबाइल कम्पनी हो । अहिले यो सहर चीनका ठूला अटोमोबाइल हबमध्ये एक बनेको छ, जहाँ सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म मात्रै करिब २५ लाख सवारी साधन उत्पादन भएको थियो ।
यस परिवर्तनको केन्द्रमा सेरेसले चोंगकिंगमा निर्माण गरेको ‘एआई सुपर फ्याक्ट्री’ रहेको छ । सन् १९८६ मा सानो उत्पादकका रूपमा सुरु भएको सेरेस अहिले हुवाएसँग सहकार्य गर्दै आइटो ब्रान्डअन्तर्गत स्मार्ट इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ । यस सहकार्यमा सेरेसले गाडी निर्माणको काम गर्छ भने हुवाएले स्मार्ट ड्यासबोर्ड र चालक सहायक प्रणालीजस्ता उन्नत डिजिटल प्रविधि प्रदान गर्छ । यस फ्याक्ट्रीको विशेषता भनेको एआईको गहन प्रयोग हो । हुवाएले विकास गरेको इन्डष्ट्रियल ब्रेन प्रणालीले सम्पूर्ण उत्पादन प्रक्रियालाई नियन्त्रण गर्छ । ठूला स्क्रिन र डिजिटल सिमुलेसनमार्फत सबै कामलाई रियल टाइममा निगरानी गरिन्छ । तीन हजारभन्दा बढी रोबोटहरूले वेल्डिङ र पेन्टिङजस्ता कामहरू गर्छन्, जसले उत्पादन प्रक्रियालाई पूर्णरूपमा अटोमेटिक बनाएको छ ।
गुणस्तर सुधारमा पनि एआईको ठूलो भूमिका छ । नटबोल्ट जस्ता गाडीभित्रका महत्वपूर्ण भागहरू क्यामेरामार्फत जाँच गरिन्छ र तस्बिरहरू एआई प्रणालीमा पठाइन्छ । यस प्रणालीले ९९.९ प्रतिशतसम्मको शुद्धतासहित त्रुटिहरू पहिचान गर्न सक्छ । पहिले कामदारलाई केही मिनेट लाग्ने कामहरू अहिले केही सेकेन्डमै सम्पन्न हुन्छन् । जटिल वायरिङ जस्ता कार्यहरू समेत साधारण स्मार्टफोनबाट खिचिएको तस्बिरमार्फत एआईले निरीक्षण गर्न सक्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको फ्याक्ट्री र सप्लायर्सबीचको मजबुत समन्वय पनि हो। प्रमुख सप्लायर्सहरू फ्याक्ट्रीभित्रै काम गर्छन् भने अन्य धेरै सप्लायर्सहरू एआई प्रणालीमार्फत डिजिटल रूपमा जोडिएका हुन्छन्। यसले उत्पादन प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउँछ । नेपालका लागि यो मोडेल महत्वपूर्ण सिकाइ बन्न सक्छ । नेपालमा उत्पादन क्षेत्र अझै विकासकै चरणमा भए पनि गुणस्तर जाँचमा अटोमेसन प्रयोग गर्ने वा सप्लाइ चेन व्यवस्थापन सुधार गर्नेजस्ता सानै स्तरबाट पनि एआईलाई अपनाउन सकिन्छ । चोंगकिंगमा जस्तै सरकारी सहयोग, इनोभेसन ल्याब र एआई प्लेटफर्महरूको विकासले स्थानीय उद्योगलाई अघि बढ्न सहयोग गर्न सक्छ ।