काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डाटा सुविधा खरिद गरेको ग्राहकहरूले प्याकेज सकिएपछि मेन ब्यालेन्स नकाट्ने सुविधा आफैँले सुचारु गर्न सक्ने भएका छन् ।
प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरेर नियमित शुल्क भुक्तानी गरी (पे–एज–यू–गो, पेजी) प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकहरूले आफै पेजी सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याक्स डायल गर्नुपर्नेछ । त्यसपछि ४ नम्बर छनौट गरेपछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ थिच्न सकिन्छ । टेलिकमले ग्राहकहरूको मागबमोजिम विभिन्न प्रकारका आकर्षक डाटा प्याकेज उपलब्ध गराइरहेको छ ।
डाटा प्याकेज खरिद गरी सेवा उपभोग गर्ने ग्राहकहरूको सन्दर्भमा डाटा भोल्युम ८० प्रतिशत खपत भएको अवस्थामा, डाटा भोल्युम समाप्त भएपछि वा डाटा प्याकेजको समयावधि समाप्त भएपश्चात् ग्राहकहरूलाई जानकारी दिन एसएमएस पठाउने व्यवस्था मिलाइएकोमा अब ९० प्रतिशत खपत भएपश्चात् एसएमएसमार्फत जानकारी गराइने कम्पनीले जनाएको छ । डाटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भएपश्चात् ग्राहकहरूले डाटा सेवाको प्रयोग निरन्तर राखेमा मेन ब्यालेन्सबाट डाटा चल्ने र चलेको भोल्युमअनुसार शुल्क काटिने व्यवस्था थियो । प्याकेज खरिद गरेका ग्राहकहरूले पेजी सुविधा पहिले नै निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिएपछि मेन ब्यालेन्सबाट डाटा चल्ने छैन । प्याकेज नलिई डाटा चलाउन आवश्यक भएका ग्राहकहरूले भने यो सुविधा सक्रिय राख्न सक्नेछन् ।
कम्पनीका अनुसार यसरी डाटा सेवा निरन्तर प्रयोग गर्दा पेजीमा नजाने व्यवस्थाका लागि विभिन्न माध्यमबाट अनुरोध गरिएको थियो । मन्त्रिपरिषदको चैत १३ गतेको निर्णयबमोजिम नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत ‘ पे–एज–यू–गो निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ । मन्त्रालयको निर्देशनअनुसार पनि कम्पनीले पे–एज–यू–गो निष्क्रिय गर्ने विकल्प उपलब्ध गराएको हो । आगामी दिनमा नेपाल टेलिकम एपबाट समेत यो सेवा सक्रिया वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुने कम्पनीले जनाएको छ ।
३० दिनको प्याक
प्रिपेड मोबाइलमा उपलब्ध गराइएका प्याकेजहरूको समयावधि २८ दिनको सट्टा ३० दिन कायम हुनुपर्ने माग भएबमोजिम हाल ‘प्रिपेड कम्बो २९९’ प्याक सञ्चालनमा ल्याइएको छ । २९९ रुपैयाँमा उपलब्ध हुने उक्त प्याक प्रयोग गरी सबै नेटवर्कमा ३०० मिनेट कल गर्न, ४ जीबी डाटा चलाउन र कम्पनीको नेटवर्कमा २० वटा एसएमएस पठाउन सकिने छ । आगामी दिनमा ३० दिन समयावधिको अन्य प्याकहरू क्रमशः बनाइने कम्पनीले जनाएको छ ।