महेन्द्र शाही
सोलुखुम्बु, पुस १०
सोलुखुम्बुको खुम्बु क्षेत्रमा मापदण्ड मिचेर कम उचाइमा हेलिकोप्टर उडान गर्दा संरक्षित वन्यजन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । मापदण्ड वितरित उडान भर्दा वन्यजन्तुलाई प्रतिकूल असर गर्ने भएकाले उडान नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई सुझाव समेत दिएको छ ।
हेलिकोप्टरको बाक्लो उडान, जथाभावी अवतरण र ठूलो आवाजले वन्यजन्तु हताहत हुने र मर्ने समेत अवस्था आउने उनीहरुको सुझाव छ । विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा क्षेत्र र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका वन्यजन्तुमाथि हेलिकोप्टरको अस्वाभाविक चहलपहल एवं जथाभावी उडानले दैनिक जीवनमा असर पु-याएको निकुञ्चको दाबी छ । रेड पान्डा, कस्तूरी, बाघ, भालु, हिउँचितुवा आदि वन्यजन्तुको प्रजनन अवस्था, वासस्थानलगायत दैनिक क्रियाकलापमा असर पुग्ने गरेको छ । दैनिक १५ देखि २० वटा हेलिकोप्टर खुम्बु क्षेत्रमा एक सय ९० भन्दा बढी पटक अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ ।
तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधारशिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै तथ्यांक छैन । पर्वतारोहणको सिजनमा दैनिक ५० भन्दा बढी पटक खुम्बुको माथिल्लो क्षेत्रमा हेलिकोप्टर अवतरण हुने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । कहाँ, कुन स्थानमा अवतरण गर्न पाउने, कति उचाइभन्दा मुनि उड्न नपाउने र उडानको बाटो तय नभएकाले निकुञ्जमा संरक्षित वन्यजन्तु आतंकित बन्ने गरेको निकुञ्जका कर्मचारीहरुले बताएका छन् ।