काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयले अजरबैजानको हेदर अलिएभ फाउन्डेसनलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरेको छ ।
बिहीबार भारतको नयाँ दिल्लीमा रहेको अजरबैजानको दूतावासमा आयोजित एक कार्यक्रमका बीच अजरबैजानका राजदूत एल्चिन हुसेनअलीलाई चिकित्सालयका अध्यक्ष डा. मनोजमान क्षेष्ठले उक्त धन्यवाद पत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष डा. श्रेष्ठले उक्त सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै राजदूत हुसेनअलीलाई पनि धन्यवाद पत्र प्रदान गरेका थिए ।
धन्यवाद पत्रमा तपाईंहरूको अमूल्य योगदानले हामीलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो अभियानलाई निरन्तरता दिन प्रेरणा दिनुका साथै आगामी दिन विपन्न परिवारलाई अझ सहयोग र निःशुल्क स्वास्थ्य सेवाको पहुँच बढाउन प्रोत्साहन गरेको उल्लेख छ ।
उक्त पत्रमा चिकित्सायलका अध्यक्ष डा. मनोजमान श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल तथा अस्पतालकी महासचिव डा. क्रिस्टिना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यसअघि गत वैशाख १२ गते अजरबैजानका राष्ट्रपतिकी छोरी मिसलैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा आकस्मिक निरीक्षण भ्रमण गर्दै करिब ३५ लाख रुपैयाँबराबरको सहायता प्रदान गरेकी थिइन् ।
सो समयमा चार्टर विमानमार्फत १० जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएकी अलिएबा भ्रमण टोलीका सदस्यहरूसहित क्षेत्रपाटी निःशुल्क चिकित्सालय निरीक्षण गर्दै अतिथि स्वागत पुस्तिकामा हस्ताक्षर गर्दै उपस्थिति समेत जनाएकी थिइन् ।
निरीक्षण भ्रमणका क्रममा उक्त सहायता हस्तान्तरण गर्नुका साथै क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू र अजरबैजनका चिकित्सकहरू आदानप्रदान गर्ने सहमति भएको थियो ।
राष्ट्रपतिकी छोरी मिसलैला अलिएबा हेदर अलिएभ फाउन्डेसनको उपाध्यक्ष समेत हुन् ।