काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमतिपत्र निलम्बन गरेको छ । व्यवसायी दिपक भट्टले सो कम्पनीमार्फत सेयर कारोबार गर्दा नियमविपरीत आर्थिक स्रोत प्रयोग गरेको पाइएपछि बोर्डले कडा कदम चालेको हो ।
बोर्डका अनुसार भट्टले आफ्नो सिद्धार्थ बैंकको खाताबाट नभई अन्य स्रोतबाट सेयर खरिदको भुक्तानी गरेका थिए । त्यसलाई भृकुटी स्टकले स्वीकार गरेको थियो । अवैध रूरुपमा आएको पैसा स्वीकार गरेर भट्टराई संरक्षण गरेपछि उक्त ब्रोकर कम्पनी विवादमा आएको थियो । उनले खरिद गरेको सेयरका लागि हिमालयन रि–इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड तथा एचएलआइ लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख रुपैयाँ गरी कुल तीन अर्ब ८१ करोड रुपैयाँ प्रयोग भएको देखिएको छ ।
अनुसन्धानका क्रममा उक्त ब्रोकर कम्पनीले ग्राहकको सेयर खरिदबिक्री तथा धितो रकम अन्य ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको, आवश्यक कानुनी व्यवस्था पालना नगरेको तथा अग्रिम कम्तीमा २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिएको पाइएको छ । साथै, कम्पनीले खरिदकर्ताबाट रकम नलिई सेयर हितग्राही खातामा जम्मा गरिदिने र बिक्रीकर्तालाई समयमै रकम नदिने जस्ता कार्यसमेत गरेको बोर्डले जनाएको छ ।
चैत १२ गतेसम्म कम्पनीले लगानीकर्तालाई दिनुपर्ने दायित्व करिब पाँच अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको देखिएको छ । यस्ता गतिविधिले सेयरबजारमा नकारात्मक प्रभाव पार्ने भन्दै धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको लाइसेन्स तत्काल निलम्बन गरिएको बोर्डको भनाइ छ । बोर्डले निलम्बन अवधिमा लगानीकर्ताको बक्यौता रकम फछ्र्यौट गर्न कम्पनीलाई निर्देशन दिएको छ । साथै, सो कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्तालाई आवश्यक परे अन्य ब्रोकरमार्फत कारोबार गर्न सक्ने व्यवस्था मिलाइने पनि जनाइएको छ ।