नेपालजस्तो विकासोन्मुख देशमा साना तथा मझौला उद्योगले विकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छन् । ठूला उद्योग बन्द भएका कारण अब नेपालमा ठूला उद्योग फेरि चलाउन र नयाँ उद्योग खोल्न विशेष ध्यान दिनु आवश्यक छ तर नेपालको भौगोलिक अवस्था, आर्थिक संरचना, सीमित औद्योगिकीकरण र रोजगारीका चुनौतीलाई हेर्दा साना तथा मझौला उद्योगहरूमा मुख्य ध्यान दिनु आवश्यक देखिन्छ । यस्ता साना तथा मझौला उद्योगहरूले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय कला, स्थानीय उत्पादन र सीप विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छन् ।
नेपालमा वास्तवमै राष्ट्रलाई गौरव नै हुने गरी ठूला उद्योग स्थापना गर्न सके पुँजीलाई चलायमान बनाउन सकिन्थ्यो, प्रविधिको विकास गर्न सकिन्थ्यो र पूर्वाधारको कमीलाई पनि विस्तारै हटाउन सकिन्थ्यो । तर साना उद्योगहरू भने कम लगानीमै सञ्चालन गर्न सकिन्छ, घरमै बसेर पनि काम गर्न सकिन्छ । साथै यसले गाउँदेखि सहरसम्म धेरै मानिसलाई कामको अवसर दिन्छ र वैदेशिक रोजगारीमा निर्भरता घटाउनुका साथै आफ्नै परिवारसँग बसेर काम गर्न सकिने हुँदा यसले गाउँमै बस्ने वातावरण पनि बनाउँछ र राष्ट्रिय अर्थतन्त्रलाई माथि लैजान सहयोग पुर्याउँछ । अझ भन्नुपर्दा, यस्ता उद्योगहरूले स्थानीय स्रोत साधन, स्थानीय उत्पादन, चीजवस्तु तथा स्थानीय जडीबुटीको पहिचान गराउँछन् र आफ्नै सीपको पुस्तान्तरण हुनुका साथै स्थानीय चीजवस्तुको उपयोग र उपभोग स्थानीय स्तरमै गरी राष्ट्र निर्माणमा टेवा पुर्याउन सकिन्छ । विशेषतः नेपालमा उपलब्ध कच्चा पदार्थ जस्तै कृषि उत्पादन, जडीबुटी उत्पादन, पशुपालन, वन स्रोत तथा हस्तकला उद्योगको स्थापना गरेर साना उद्योगहरू सञ्चालन भइरहेका छन् र अझै यसलाई प्राथमिकतामा राख्न सकेमा यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ र आयातमा निर्भरता घटाउन सकिने कुरा यथार्थपरक मान्न सकिन्छ । तर नेपालमा सबै ठाउँमा बाटोघाटोको समस्या, बिजुलीको समस्या, उचित काम गर्ने वातावरणको अभाव, दक्ष जनशक्ति तथा औद्योगिक मेसिनरी तथा औजारको कमी, प्रविधिको कमी, बजार पहुँचको समस्या साथै सरकारी नीतिको कमजोर कार्यान्वयनले केही चुनौतीहरू पनि देखिएका छन् । तर यी समस्याहरू समाधान गर्न सकेमा साना तथा मझौला उद्योग नेपालको विकासका लागि प्रमुख अस्त्र बन्न सक्छन् ।
मुख्यतया, सानातिना घरमै बसेर काम गर्ने वातावरण र सीप भएमा यस्ता कामको सधैं माग भइरहन्छ र आम्दानीको स्रोत पनि बन्न सक्छ । जस्तै गाडी बनाउने, प्लम्बिङको काम गर्ने, कपाल काट्ने, कपडा बुन्ने, अचार–पापड बनाउने, धूप बनाउने, ब्युटी पार्लरको काम गर्ने, हस्तकला, माटोका भाँडा बनाउने, फलामका सामानहरू बनाउने वा ग्रिल तथा अन्य औजार बनाउने जस्ता कामहरू र सीप सिकेमा रोजगारीको अवस्था वा भनौँ आफैं उद्यमी बन्न सकिन्छ । त्यसैगरी मोमो बनाउने, फुरन्धाना बनाउने, प्याकेजिङ गर्ने, सिलाइ–बुनाइ गर्ने, जुत्ता तथा लुगा बनाउने कामले पनि सानासाना समूह हुँदै घरेलु उद्योगदेखि मझौला हुँदै बृहत् उद्योग बनाउन सकिन्छ । सामूहिक खेतीमा ध्यान दिने, डकर्मी, सिकर्मीलगायत इन्जिनियरहरू उत्पादन गरी घर, विद्यालय तथा कारखाना आफ्नै देशको उत्पादन सामग्रीले बनाउने र खेतीका लागि मल उत्पादन स्थानीय स्तरबाटै गर्ने, अर्गानिक खेती गर्ने र त्यसको उचित भण्डारण तथा बजार व्यवस्थापनका काम देशकै युवालाई गराउन सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउन सक्छ । त्यसैगरी दूध उत्पादन, डेरी उद्योगको विस्तार, कुखुरा र बाख्रा पालनलाई विशेष योजना बनाएर काम गर्न सके देशलाई चाहिने दूध, खाद्य सामग्री, तरकारी, माछामासुमा आत्मनिर्भर हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुर्याउन सकिन्छ । आजको युगमा त झन् घरमै बसेर पनि सामाजिक सञ्जालमार्फत धेरै काम गर्न सकिन्छ, बजारिकरण गर्न सकिन्छ र यस्ता कामहरू परिवारकै सदस्यहरू मिलेर पनि गर्न सकिन्छ ।
नेपालको आफ्नै उत्पादन धेरै क्षेत्रमा एकदमै कम देखिन्छ । दैनिक उपभोग्य वस्तुमा पनि नेपाल आत्मनिर्भर छैन । बिहान उठेर दाँत माझ्ने ब्रस, मञ्जनदेखि हात पुछ्ने रुमालसम्म आयातित वस्तु प्रयोग गर्नुपर्ने बाध्यता छ । उठेदेखि बिहान, दिउँसो र साँझ तथा सुत्ने बेलासम्मको ओछ्यानसमेत विदेशी उत्पादन प्रयोग गर्नुपर्ने अवस्थाले हाम्रो अर्थतन्त्र कमजोर बनिरहेको छ । यस्तो अवस्थामा साना उद्योग तथा मझौला उद्योगदेखि ठूला राष्ट्रिय योजना बनाएर उद्योग सञ्चालन गर्न सके हरेक क्षेत्रमा आयातमा निर्भर हुनु नपर्ने हुन्छ ।
नेपालजस्तो भौगोलिक अवस्था भएको देशमा साना तथा मझौला उद्योगहरूले सन्तुलित क्षेत्रीय विकास गर्नमा पनि सहयोग गर्छन् । ठूला उद्योग प्रायः सहर तथा औद्योगिक क्षेत्रमा केन्द्रित हुन्छन्, तर साना उद्योगहरू गाउँ–गाउँमा र बस्ती–बस्तीमा फैलिन सक्छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी, स्वरोजगारी तथा आर्थिक गतिविधि बढाउँछ र सहरतर्फको आकर्षण तथा अत्यधिक बसाइँसराइलाई कम गर्न मद्दत गर्छ । यस्ता उद्योगहरूले उद्यमशीलता, जोश, जाँगर, उत्साह र केही गरौँ भन्ने भावना पनि विकास गर्छन् । नेपालमा युवाहरूलाई आफ्नै व्यवसाय सुरु गर्न प्रेरित हुनुका साथै आउने पुस्तालाई पनि केही गरौँ भन्ने जाँगर दिन सक्छ, जसले आत्मनिर्भरता बढाउनुका साथै नयाँ सोच, नवप्रवर्तन ल्याउँछ । यस्ता साना–साना व्यवसायहरूले दीर्घकालीन रूपमा सम्पूर्ण देशकै अर्थतन्त्रलाई मजबुत बनाउन टेवा पुर्याउँछन् ।
आजको नेपालका साना तथा मझौला उद्योगलाई हेर्ने हो भने यस्ता उद्योगहरूले निर्यात प्रवर्द्धनमा पनि योगदान दिइरहेका छन् । जस्तै नेपाली जुत्ता, कपडा, हस्तकला, कृषि उत्पादन, अचार, गुन्द्रुक जस्ता साना उत्पादनदेखि गार्मेन्ट, गलैँचा र पश्मिना जस्ता उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेका छन् र यसले विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुर्याइरहेको छ । तर पहिलेका जस्तै ठूला उद्योगहरू भने बन्द भइसकेका छन् । पहिले नेपालका गलैँचा उद्योग, पश्मिना उद्योग र नेपाली गार्मेन्ट उद्योगले अन्तर्राष्ट्रिय बजारमा राम्रो पहुँच पाएका थिए र लाखौँ रोजगारी सिर्जना गरेका थिए । तर विभिन्न कारणले ती उद्योगहरू बन्द हुँदा राज्यलाई विदेशी मुद्रा आर्जनमा ठूलो क्षति भएको थियो । नेपालमा गार्मेन्ट, कार्पेट र पश्मिना उद्योगबाट सबैभन्दा बढी विदेशी मुद्रा आएको समय १९९० दशकको मध्यदेखि अन्त्यसम्म (लगभग १९९५–२०००) मानिन्छ । यो अवधि नेपालका निर्यात उद्योगहरूको स्वर्ण युग नै थियो । सन् १९९७–१९९९ तिर गार्मेन्ट उद्योग चरम अवस्थामा पुगेको थियो र यसको मुख्य बजार अमेरिका थियो । त्यसैगरी नेपाली हस्तनिर्मित गलैँचा जर्मनी, स्विट्जरल्यान्ड र अमेरिका जस्ता देशमा अत्यधिक माग थियो र सन् १९९४–१९९८ बीच सबैभन्दा बढी निर्यात भएको देखिन्छ । पश्मिना उद्योग पनि सन् २०००–२००३ तिर चरम अवस्थामा पुगेको थियो । तर गुणस्तर समस्या, प्रतिस्पर्धा, कच्चा पदार्थको अभाव र नक्कली उत्पादनका कारण यी उद्योगहरू कमजोर भए ।
जापान भ्रमणका क्रममा मैले त्यहाँ धेरै घरेलु उद्योगहरू देखेको थिएँ । एउटा गाउँको सानो उद्योगमा गएँ, त्यहाँ हवाइजहाजको ढोका बनाइरहेको पाइयो । अध्ययनअनुसार जापानका करिब ९९ प्रतिशत व्यवसाय साना तथा मझौला उद्योग हुन् । साना भए पनि अत्यन्त गुणस्तरीय उत्पादन हुन्छ र कामदारहरू दक्ष हुन्छन् । साना उद्योगहरूले ठूला कम्पनीलाई पाट्र्स आपूर्ति गर्छन् । टोयोटा जस्ता ठूला कम्पनीका धेरै पाट्र्स पनि साना उद्योगहरूले बनाउँछन् । त्यस्तै बेकरी, परम्परागत खाना, सुशी पसल तथा पारिवारिक रेस्टुरेन्टहरू पनि सञ्चालनमा छन् र गुणस्तर तथा सरसफाइ उत्कृष्ट हुन्छ ।
त्यहाँको कार्यसंस्कृति अत्यन्त राम्रो छ, सरसफाइ, प्याकेजिङ र सफाइमा विशेष ध्यान दिइन्छ । स्थानीय सुविधा सेवाहरू उपलब्ध छन्, जसले सानातिना कामका लागि टाढा जानु पर्दैन । त्यहाँ काममा अनुशासन छ, गुणस्तरमा ध्यान दिइन्छ, प्रविधिको भरपूर प्रयोग हुन्छ र सरकारको पूर्ण सहयोग पनि पाइन्छ । साना उद्योगलाई प्रोत्साहन गर्ने स्पष्ट नीति तथा स्थायित्वमा आधारित काम जापानमा गरिन्छ ।
मेरो जापान अनुभवअनुसार नेपालमा पनि सानो कामलाई सम्मान गर्ने, गुणस्तरीय काम गर्ने, पारिवारिक उत्पादनशीलता बढाउने, अनुशासनमा आधारित काम गर्ने र सरकारी नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके घरेलु उद्योगहरू वास्तवमै विकासको बलियो आधार बन्न सक्छन् । नेपालमा पनि यस्ता उद्योगहरू राम्रोसँग विकास गर्न सकिन्छ, तर त्यसका लागि योजना, अनुशासन र बजार जोड्ने सोच आवश्यक हुन्छ । जापानको विशेषता के हो भने त्यहाँ साना उद्योगहरू पनि गुणस्तर, अनुशासन र निरन्तर सुधारमा आधारित हुन्छन् । नेपालमा पनि यही कुरा अपनाउन सके ठूलो परिवर्तन सम्भव छ ।
घर–घरमा उद्योगको नारा दिई गाउँ–गाउँमा सबैलाई कुनै न कुनै काममा आबद्ध गराउने व्यवस्था गर्नु आजको आवश्यकता हो । नेपाल मुख्यतया कृषि आधारित देश भएकाले कृषि उत्पादनलाई वैज्ञानिक र आधुनिक बनाउने, साना औजारको प्रयोग, सिँचाइ, उन्नत बीउबिजन वितरण, उत्पादनको उचित भण्डारण र बजार व्यवस्थापन गर्ने, स्वरोजगारमूलक तालिम दिने, आधुनिक प्रविधिको प्रयोगमार्फत व्यवसाय गर्न प्रेरित गर्ने र त्यसका लागि उपयुक्त वातावरण बनाउनु आवश्यक छ ।
त्यसैगरी पर्यटन विकासलाई व्यवसायिक रूपमा अगाडि बढाउने, प्रत्येक स्थानको माटो अनुसार उत्पादन निर्धारण गर्ने, उत्पादनको लेबलिङ, गुणस्तर नियन्त्रण र उचित बजार व्यवस्थापन गर्ने, युवालाई सीप विकासमा विशेष जोड दिने हो भने नेपालमा पनि जापानजस्तै घरेलु उद्योगको क्रान्ति सम्भव छ । सानोबाट सुरु गरेर नै ठूलो बन्ने हो, तर गुणस्तरमा ध्यान दिनु सबैले बानी बसाल्नुपर्छ ।
अन्त्यमा भन्नुपर्दा, साना तथा मझौला उद्योगहरू नेपालजस्तो विकासोन्मुख देशका लागि आर्थिक विकास, रोजगारी सिर्जना, स्वरोजगार र आत्मनिर्भरता निर्माणको आधार हुन् । सरकारी उचित नीति, लगानीको वातावरण र प्रवर्द्धन भएमा यिनले देशलाई दिगो विकासतर्फ अग्रसर गराउन ठूलो भूमिका खेल्न सक्छन् । आशा छ, घर–घरमा उद्योगको विकास भई देश विकासमा टेवा पुग्ने वातावरण नेपालमा छिट्टै निर्माण हुनेछ । पहिले जस्तै उद्योगधन्दा स्थापना भई नेपालमा रोजगारी समस्याको अन्त्य भई देश विकासमा ठूलो योगदान पुग्नेछ ।