विराटनगर । मोरङ उद्योग व्यापार संघ र इन्स्योर परियोजना तथा हेल्भेटास नेपालको सहयोगमा पूर्वी क्षेत्रका उद्योगका प्राविधिकलाई २४ दिने सीप स्तरोन्नति तालिम दिइएको छ ।
चैत्र १ गतेदेखि सञ्चालन गरिएको ‘हिटिङ, भेन्टीलेसन, एसी प्रणाली सीप स्तरोन्नति तालिम सम्पन्न भएको हो । औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको सीप अभिवृद्धि गरी उत्पादन क्षमता वृद्धि तथा उद्योगहरुको समग्र कार्यक्षमता सुदृढ बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको थियो । मोरङ–सुनसरी औद्योगिक करिडोरमा कार्यरत श्रमिकहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको तालिमका संयोजक अमित राठीले जानकारी दिए । तालिममा सहभागीहरुलाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ । तालिमले उद्योग, होटल तथा अस्पताल क्षेत्रमा कार्यरत इलेक्ट्रिसियनहरुको दक्षता अभिवृद्धिमा महत्वपूर्ण सहयोग गरेको सहभागीहरुले बताए । उनीहरुले आगामी दिनहरुमा पनि थप तालिमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
तालिमका संयोजक राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत जनशक्तिको सीप विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि तालिमहरु सञ्चालन गर्ने बताए । त्यसैगरी, इन्स्योर परियोजना सहजिकरण इकाइ, कोशी प्रदेशका प्राविधिक संयोजक रेखा उप्रेतीले तालिमले औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । तालिममा विभिन्न उद्योग, होटल तथा अस्पतालमा कार्यरत २० जना इलेक्ट्रिसियनको सहभागिता रहेको थियो । उक्त तालिममा ८० प्रतिशत हिस्सा इन्स्योर/हेल्भेटास परियोजनाले र २० प्रतिशत मोरङ उद्योग व्यापार संघले लगानी गरेको जानकारी गराइएको थियो ।