काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेन्ट बैंकिङसम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो । नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्रसम्बन्धी कानुन तथा नियामकिय व्यवस्थाअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रियाहरु पूरा गरी मर्चेन्ट बैंकिङ सेवाहरु सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।
हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पुँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।