काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ ।
यस अफरअन्तर्गत विद्यार्थीहरूलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्नेछन् । एसईई अफर चैत २६देखि सुरु भएको र आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध हुनेछ । यसका लागि २० रुपैयाँमा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन् । नयाँ सिमकार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने नौ रुपैयाँ ८० पैसाबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ । यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिनसम्मका लागि प्रतिदिन टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ ।
अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले स्टार१४१४ह्याक्स डायल गर्नुपर्नेछ । सोपश्चात् अफर प्राप्त गर्नका लागि स्टार१६००ह्याक्स डायल गरी निर्देशनअनुसार गर्नुपर्नेछ ।