काठमाडौं । ललितपुरको बखुण्डोलमा निमार्णाधिन समिट अपार्टमेन्टले नक्कली काम गरेर पछि सक्कली बनाएको पाइएको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ, सञ्चित बज्राचार्य, अमृत शाक्यलगायतको समूहले समिट होटलको पुरानो संरचनालाई भत्काएर अपार्टमेन्ट निर्माण गर्ने क्रममा तत्कालीन समयमा सत्ताको आडमा नियम र कानुनलाई मिचेर निर्माण गरी अन्तिम समयमा विरोध हुन थालेपछि मात्र नियमहरू पूरा गरेको पाइएको हो ।
अपार्टमेन्ट निर्माण गर्न जग खन्ने क्रममा सिमानामा पर्ने छिमेकिहरूको भौतिक संरचनामा गम्भिर क्षति पु¥याए पनि नियम र कानुन आफ्नै हातमा रहेको र ललितपुर महानगरलिकाका मेयर तथा निर्माण क्षेत्रमा पर्ने वडा अध्यक्ष समेत आफ्नो अनुकूलको रहेको भन्दै छिमेकीहरूलाई धम्काएर क्षतिपूर्ति समेत दिन आनाकानी गरेको यो समूहको ज्यादतीले ४५ वर्ष पुरानो ग्रीनविच भिलेज होटल समेत बन्दको मारमा परेको छ । ठूलो संख्यामा रोजगारी प्रदान गर्दै आइरहेको ग्रीनविच भिलेज होटल समिट अपार्टमेन्ट निर्माणको क्रममा गम्भीर क्षति हुन पुगी विगत ३ वर्षदेखि बन्द रहँदै आएको छ भने यसमा निर्भर श्रमिकहरूको रोजिरोटी समेत गुमेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको मौखिक अनुमतिपछि अपार्टमेन्ट निर्माणपूर्व गर्नुपर्ने वातावरण प्रभाव मूल्याङ्कन, बिल्डिङ बनाउने अनुमतिलगायतका कानुनी प्रक्रियाहरू पूरा नगरी अपार्टमेन्ट निर्माण गर्न थालेको यो समूहले स्थानीय छिमेकीहरूको करोडौँको नोक्सानी गराएर क्षतिपूर्ति दिन समेत आलटाल गर्दै आएको छ ।
अपार्टमेन्ट निर्माणका क्रममा स्थानीयहरूको घर तथा ग्रीनविच होटलमा गम्भीर क्षति पुगी बस्नै नमिल्ने अवस्था सिर्जना भएपछि यो समूहले ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यलाई प्रभावमा पारेर उधारो सम्झौता गर्न लगाएर सम्झौताको पालना समेत नगरेको पाइएको छ ।
महानगरकी उपमेयर बज्राचार्यको अनुमतिमा अपार्टमेन्टले होटल तथा स्थानीयहरूसँग गरेको सम्झौताको संचित कृष्ण श्रेष्ठ सहितको समूहले आफ्नो सत्ता साझेदारीहरूसँग सिधा पहुँच रहेको भनी धम्काउँदै आएकोले ग्रीनविच होटल पुनर्निर्माणको काम समेत प्रभावित हुँदै आएको छ ।
भवन ऐन, २०४४ को दफा १० ले भवन संहिताअनुरूप भवन निर्माण गर्नुपर्ने, दफा ११ अनुसार भवनको डिजाइन तथा नक्सा स्वीकृति लिनुपर्ने व्यवस्था गरेको भए पनि महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा उपमेयर मञ्जली शाक्य बज्राचार्यले आईजे ग्रुपका अध्यक्ष रवीभक्त श्रेष्ठ र समिट समूहका सञ्चित कृष्ण श्रेष्ठ, अमृत श्रेष्ठसँग प्रभावमा परी घरधनीहरूबीच नै गुटबन्दी गराएर घरधनीहरूलाई आफ्नो पकडमा राख्दै इतिहास बोकेको र धेरै नेपालीहरूलाई रोजगारी दिइरहेको ग्रीनविच होटललाई एक्लाएर क्षतिपूर्ति नदिन अनेकौँ प्रयासहरू गर्दै आइरहेको पाइएको छ ।
महानगरपालिकाको उपमेयर बज्राचार्यकै उपस्थितिमा क्षतिपुर्ति निर्धारण र पुनर्निर्माणको लागि लाग्ने लागतको अध्ययन गरी प्रतिवेदन बुझाउन एक परामर्शतादा कम्पनी नियुक्त गरेको भए पनि पछि सो परामर्शदाता कम्पनीले दिएको प्रतिवेदनलाई थन्काएर उपमेयर बज्राचार्यले ३ वर्षदेखि बन्द रहँदै आएको पीडित ग्रीनविच होटललाई अदालत जान निर्देशन दिएकी थिइन् ।