सिन्धुली । सिन्धुली निर्माण व्यवसायी संघले निर्माण आपतकालको घोषणा गरी व्यवसायीहरूलाई राहत दिन सरकारसंग माग गरेको छ ।
संघले शनिबार एक विज्ञप्ति जारी गर्दै इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थिति भएकाले निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीहरूलाई मूल्य वृद्धिको राहत दिन सरकारसंग माग गरेको हो । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरूमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोमा संघले जनाएको छ । इन्धनजन्य सामग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्रीहरूमा समेत निरन्तर भइरहेको र अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको विज्ञेप्तीमा उल्लेख छ ।
देशका विभिन्न ठाउमा क्रसर उद्योगमा देखिएको समस्याले निर्माण उद्योग थप आक्रान्त भएको पनि सिन्धुली निर्माण व्यवसायी संघका अध्यक्ष उद्धव दाहालले बताए । उनका अनुसार निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघले बारम्बार नेपाल सरकारलगायतका निकायहरूमा पत्राचार गरे पनि समस्या समाधान हुने गरी अहिलेसम्म केही कार्यान्वयन भएको छैन । ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांक अनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीहरूको अत्याधिक मूल्यवृद्धि भए पनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको उनको भनाइ छ ।
संघले निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेका अत्याधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको बताएको छ । प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका– २ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित साना ठूला सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न संघले माग गरेको छ ।